काठमाण्डौ । खचाखच भरिएको हल । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता, अर्थविद, पत्रकार लगायतको उस्तै उत्साहजनक सहभागिता । त्यसमाथि मञ्चमै अर्थमन्त्री, निजी क्षेत्रका अगुवा, गभर्नर, डेपुटी गभर्नर लगायतलाई देखेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ हौसिए । सबै क्षेत्रलाई प्रतिनिधित्व गर्नेहरुको सहभागिता देखेर उनले निजी क्षेत्रको समस्या राख्दै राष्ट्रबैंक र सरकारको नीतिप्रति पनि कटाक्ष हान्न थाले । 

मौकाको फाइदा उठाउँदै उनले उद्घोषकले निर्धारण गरेको ५ मिनेट समयभन्दा बढी बोले र अधिकांश समय निजी क्षेत्रको समस्या र त्यस्ता समस्या समाधानमा नेपाल राष्ट्रबैंक र सरकारले चासो नदिएको विषयमा केन्द्रीत रहे ।

हँसिलो र रसिलो पारामा समस्या राख्दै गर्दा उनको भाषण अवधिभरि कार्यक्रम हलमा हाँसोको फोहोरो छुटि नै रह्यो । 

उनले आफ्नो सम्बोधनको क्रममा बैंकहरुले ब्याजदरमा मनपरी गरेका, व्यवसाय कर्जा लिंदा एउटा ब्याजदरमा सहमति भए पनि ३ महिनामै ब्याज परिवर्तन भई लागत बढ्ने अवस्था भएको लगायतका गुनासो राखे । ‘एउटा ब्याजदरमा लोन लिएर प्रोजेक्ट कस्ट बनाइएको हुन्छ । प्रोजेक्ट सुरु भएपछि प्रत्येक ३ महिनामा बैंकबाट ब्याजदर परिवर्तनको प्रेमपत्र आउन थालिहाल्छ ।’ उनले भने । 

बैंकहरुको ब्याजदरप्रति बढी व्यङ्ग्य कसेका उनले सरकारले समेत निजी क्षेत्रमैत्री नीति लिन नसकेको दाबी गरे । उद्योग गर्ने वातावरण नभएको उल्लेख गर्दै सरकारले वैदेशिक रोजगारी बन्द गरी देशमै स्वरोजगार बन्ने नीति लिए पनि त्यसको बलियो आधार नहुँदा त्यो नीति नै फेल भएकोसम्म भन्न भ्याए । ‘देशका युवालाई स्वदेशमै स्वरोजगार बनाउने भनेर सरकार कस्सियो, केही महिना वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो(घटाइयो) ।’ उनले भने–‘तर अहिले न उद्योग गर्ने वातावरण बाँकी रह्यो, न सहज ढंगले व्यवसाय गर्न पाइने भइयो । बरु वैदेशिक रोजगारीमा जाने युवालाई गइरहन दिइएको भए अहिले विप्रेषण त घट्ने थिएन ।’ 
ग्लोबल आईएमई बैंकले जनता बैंकलाई मर्ज गरी एकीकृत कारोबार सुरुवातको लागि आयोजना गरेको समारोहको तेश्रो वक्ताको रुपमा बोलेका उनले बैंकहरु ठूलो भई संचालन खर्च घट्छ भनिएको, तर त्यसको लाभ व्यवसायीले लिने कर्जाको ब्याजदरमा नदिइएको गुनासो पनि गरे, रमाइलो शैलीमै । 

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगातार व्यङ्ग्य कसिरहँदा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल रातोपिरो देखिएका थिए । श्रेष्ठपछि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बोले । उनले समेत सरकारको नीति र बैंक ब्याजदर तथा तरलता समस्याको विषयमा प्रश्न उठाए । 

त्यसपछि बोल्ने पालो आयो गभर्नर डा. चिरञ्जिवी नेपालको । सुरुवातदेखि नै व्यवसायीप्रति आक्रामक देखिएका उनले पनि राजेशकाजी श्रेष्ठलाई बाँकी राखेनन् ।

बैंकको संचालक पनि आफैं हुने र तिनै व्यक्ति व्यवसायी पनि हुने भएकोले दोहोरो भूमिकामा रहेर बैंक ब्याजदर घटेन भनेर गुनासो गर्ने काम गलत रहेको गभर्नरको दाबी थियो । 

‘तपाईहरु बैंक पनि चलाउने, व्यापार पनि गर्ने । मर्जर पोलिसी निरन्तर हुन्छ, समयमै सोच्नु होला ।’ डा. नेपालले भने–‘तपाईहरुमध्ये अधिकांश व्यवसाय पनि गर्नुहुन्छ र बैंक पनि चलाउनुहुन्छ । त्यसले गर्दा यो(ब्याजदर) तपाईको हातको कुरा पनि हो । राष्ट्रबैंकले हस्तक्षेप नै गर्नुपर्ने विषय पनि होइन । यसमा तपाईहरु गम्भीर हुनुहोस् ।’

उनले राजेशकाजी श्रेष्ठको नामै तोकेर भने–‘राजेशजी तपाईको सांग्रीला बैंक होइन ?’ गभर्नरले नामै तोकेर सोधिदिएपछि हलमा हाँसोको फोहोरा नै छुट्यो । हाँसोको बीच आफ्ना कुराको पुष्ट्याई गर्न खोज्दै गभर्नरले भने–‘मैले भन्न खोजेको तपाई सबैलाई थाहा छ । पवन जी(पवन गोल्यान) उद्योगी हुनुहून्छ, बैंकको अध्यक्ष पनि हुनुहुन्छ । विशुद्ध आफ्नो व्यवसाय गरेको दिन मात्र तपाईहरुले बैंकको ब्याज बढी भयो भन्ने नैतिक बल पाउनुहुन्छ । त्यसकारण यो चिज अलिकति याद गरौं । राष्ट्रबैंकलाई सबै कुरा थाहा हुन्छ, हामीले यहाँ बसेर हेरिरहेका हुन्छौ ।’

उनले राजेशकाजीको कटाक्षको विषयलाई यत्तिकै छाडेनन् । ‘तपाईहरुलाई कतिपय कुरा चित्त बुझ्ला, नबुझ्ला । तर खुलेआम गलत चाहि भनिदिन भएन ।’ उनले थपे–‘अहिलेको परिस्थितिमा बैंकमा सुशासन, व्यवस्थापकीय क्षमता बढाउनुपर्छ र बोर्ड सदस्य र अध्यक्षहरुले सीइओहरुलाई दवाब दिनुभएन, यति नै नाफा कमाउनु भनेर । सीइओ साबहरुले पनि केन्द्रीय बैंकको पोलिसीलाई राम्रोसँग लिएर हिँड्नुहोस् ।’

ब्याजदर बढी हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत भएको दाबी गर्दै भने–‘ब्याजदर बढी भयो, डिमाण्ड बढी भयो । खर्च गर्न मानिसले खोजिरहेको छ भनेर बुझ्नुपर्छ । केन्द्रीय बैंकले यसका लागि रिफाइनान्सिङ ३ प्रतिशतमा दिइरहेका छौ । सबै कुरा राष्ट्रबैंकले गर्ने हो भने वाणिज्य बैंकहरुको चाहि के काम ?’
उनले सबैलाई पैसा कमाउन, तर पारदर्शी बन्न आग्रह गरे । बैंकहरु पनि पारदर्शी बन्नुपर्नेमा उनको जोड थियो । 

गभर्नर नेपालले ग्लोबल र जनताको सफल मर्जरपछि अन्य बैंकहरु पनि मर्जरका लागि उत्साहित भएर आएका दाबी समेत गरे ।