काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । 

उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पूँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको छ । 

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८हजार रुपैंयाचुक्ता पूँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ । साधारणसभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द रहेकोमा २०७६ मंसिर १२ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन ।