काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले गत वर्षको तुलनामा २१.१४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष बैंकको खुद नाफा १५ करोड ५४ लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा २६ करोड ९० लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ४६ करोड ४६ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० करोड २५ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

बैंकले समीक्षा अवधिमा ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३३ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २२.१८ प्रतिशतले बढेर ६३ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार ५१ करोड ७३ लाख रुपैयाँ थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २५.१२ रुपैयाँ रहेको छ । बैंकको पीई अनुपात ८.६० प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ रहेको छ ।