काठमाण्डौ । मर्जरको मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । जसअनुसार बैंकको वार्षिक साधरणसभा यही मंसिर २७ गते पोखराको होटेल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ ।

सभामा गरिमा विकास बैंक र अन्य इजाजतपत्र प्रपत बैंक तथा वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने र गाभिने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरु प्राप्त गर्ने अजेन्डा पारित हुनेछ । मर्जर र प्राप्ति प्रक्रियाका लागि बैंकले सञ्चालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १७ प्रतिशत लाभांश पनि अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्त पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार ९९६.७८ रुपैयाँको १६.१५ प्रतिशत हुन आउने ४५ करोड ३ लाख २१ हजार ४३१.४८ रुपैयाँबराबरको बोनस सेयर र ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख १ हजार १२७.९७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने तथा सोहीबमोजिम प्रबन्ध पत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ गतेदेखि मंसिर २७ गतेसम्म बुक क्लोज गर्नेछ । यसको मतलब मंसिर १२ गतेअघि कायम सेयरधनीहरुले मात्र वार्षिक साधारणसभामा भाग लिन पाउने छन् भने प्रस्तावित लाभांश पनि पाउनेछन् ।