काठमाण्डौ । अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट बच्ने भ्याक्सिन बनाउन नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई सहयोगी हुने दाबी गरेका छन् । 

प्रतिरक्षाको बिषयमा यो जनावरले लगातार यस्तो विशेष एन्टिबडिज उत्पादन गर्छ कि जसको माध्यमबाट एचआइभीलाई समाप्त पार्न सकिने उनीहरुको दाबी छ । 

यस्तो मानिएको छ कि कम्प्लेक्स तथा ब्याक्टेरियायुक्त पाचनतन्त्रका कारण गाईमा प्रतिरक्षाको क्षमता ज्यादा विकसित हुन जान्छ । 

अमेरिकाको नेशनल इन्स्टिच्यूसन अफ हेल्थले नयाँ जानकारीलाई निकै भरपर्दो पनि भनेको छ । 
एचआइभी एक घातक प्रतिद्वन्द्वी हो र यति छिटो आफ्नो स्थिति परिवर्तन गर्छ कि भाइरसलाई रोगीको प्रतिरक्षा प्रणालीमा हमला गर्ने बाटो पाउँछ । एचआइभीले आफ्नो उपस्थितिलाई परिवर्तन गरिरहन्छ । 

एउटा भ्याक्सिनले रोगीको रोग प्रतिरोधी प्रणालीलाई विकास गरिदिनसक्छ र मानिसलाई रोगको संक्रमणको पहिलो चरणबाटै बचाउन सक्छ । 

यहीकारण इन्टरनेशनल एड्स भ्याक्सिन इनिशिएटिव तथा द स्क्रिप्स रिसर्च इन्स्टिच्यूटले गाईको प्रतिरक्षा क्षमताको बिषयमा जाँच सुरु गरेको बीबीसीले जनाएको छ । एक शोधकर्ता डाक्टर डेविन सोकले बीबीसीसँग भनेका छन्–‘यसको परिणामले हामीलाई चकित बनाइदिएको छ ।’ उनका अनुसार जरुरी एन्टिबाडिज गाईको प्रतिरक्षा तन्त्रमा केही हप्तामै बन्ने गरेको देखिएको छ । उनले अगाडि भनेका छन्–‘पहिला त यो यति सजिलो होला भन्ने लागिरहेको थिएन । आखिर कसलाई थाहा थियो र एचआइभीको उपचारमा गाईको यति महत्वपूर्ण योगदान होला भनेर ।’ 

‘नेचर’ नामको जर्नलमा प्रकाशित नतिजामा बताइएको छ कि गाईको एन्टिबडिजबाट एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म कम गर्न सकिन्छ । 

प्रयोगशालाको परीक्षणको क्रममा यो पनि पत्ता लागेको छ कि ३८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असरलाई मारिदिनसक्छ । 

एक अर्का शोधकर्ता डाक्टर डेनिस बर्टनले भनेका छन्–‘मानिसको तुलनामा जनावरको एन्टीबडिज धेरै पृथक हुन्छ र यसले एचआइभी निको पार्ने क्षमता समेत राख्छ ।’