बाबियाचौर, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । 

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् । 

रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने ११९ घरधुरी लाभान्वित भएका परियोजनाका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधाको सम्भावना नरहेको कुइनेखानीका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । लघुजलविद्युत् परियोजना निर्माण भएपछि बत्ती बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, घरायसी काम गर्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सजिलो भएको छ । 

बिजुलीको प्रयोग गरेर कुटानीपिसानी मिलसमेत सञ्चालन भएको वडासदस्य खबहादुर छन्त्यालले बताउनुभयो । विसं २०७० मा निर्माण शुरु भएको आयोजना चार वर्षमा यसै महिनाको पहिलो साता सम्पन्न भएको हो । 

परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सहयोग एकाइ धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी), बागलुङले रु ३९ लाख र तत्कालीन कुइनेमंगले गाविसले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । 

उपभोक्ताले प्रतिपरिवार १३० दिनका दरले श्रमदान र रु दुई हजार ५०० का दरले नगद संकलन गरेका थिए । उपभोक्ताको रु ६० लाख बराबरको लगानी भएको अध्यक्ष छन्त्यालले बताउनुभयो।