काठमाण्डौ । सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो आज(मंगलबार)देखि सुरु हुँदैछ । 

काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा  सुरु हुने मेलामा विभिन्न कम्पनीका स्टलहरु रहनेछन् । 

चार पांग्रे र दुई पांग्रे सवारीको कुम्भ मेलाको रुपमा हेरिएको यो इभेन्टका क्रममा धेरै गाडी कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । ठूला चाडपर्वको पूर्वसन्ध्यामा नाडा अटो शो हुने भएकोले समेत गाडी कम्पनीहरुले पर्वलक्षित अफर तथा स्किम समेत यही  बेला सार्वजनिक गर्ने गर्छन् । 

नाडा अटोशोको पहिलो दिनदेखि नै विभिन्न कम्पनीले यस्ता स्किम सार्वजनिक गर्न थालेका छन् । हालसम्म कुन कम्पनीको कुन गाडीमा के अफर सार्वजनिक भएको छ  त ? हेरौं बुँदागत रुपमा:

मारुती सुजुकीको पर्वोत्सव अफर

जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ। 

नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण गाडीहरुमा अफर उपलब्ध गराइने बताएको छ ।

यो योजना अन्तर्गत सुजुकीको नाडा अटो स्टल नं जे१७ को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।   

यसपालिको ‘पर्वोत्सव’ अफर अन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन्। 

स्याङयोङका गाडीमा ५ लाखसम्म छुट
मंगलबार(आज)देखि सुरु भई भदौ ३१ गतेसम्म संचालन हुने नाडा अटो शोको अवसरमा स्याङयोङ गाडी किन्नेले समेत अन्बिटेबल अफर पाउनेछन् । नाडामा स्याङयोङका गाडीहरु स्टल नम्बर ए६ मा हुनेछन् ।

स्याङयोङ गाडीको नेपालका लागि आधिकारिक वितरक तथा आइएमएस मोटर्सले रेक्सटन, कोराण्डो, टिभोली, एक्स एल भी र एकट्योन स्पोर्ट गरी पाँच प्रकारका कोरियन लक्जरी एस यु भी मोडलका गाडीहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको हो ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका ग्राहकहरुलाई नाडा अटो सोको अवसरमा ५ लाखसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसङ ग्यालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा दिइनेछ । यस्तै, ३ वर्षको वारेन्टी, सुलभ इएमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स तथा एकवर्षको निशुल्क बीमा र ५ वर्षको निशुल्क सर्भिसिंग सुविधा समेत उपलब्ध गराइने आइएमएस मोटर्सले जनाएको छ । 

हार्ले डेभिडसन बाइकमा छुट
नाडा अटो शोको अवसर पारेर नेपाली बजारमा आइएमई अटोमोटिभ्सले अमेरिकी बाइक हार्ले डेभिडसन प्रदर्शन  गर्नेछ । कम्पनीले नाडामा हार्लेको आर्इरन ८८३ मोडल सार्वजनिक गर्नेछ ।  

नेपाली बजारमा आइरन ८८३ चारवटा कलरमा उपलब्ध भए पनि नाडामा चाहि दुर्इवटा बाइकको मात्र प्रदर्शन गर्नेछ । 

हाल नेपाली बजारमा उपलब्ध रहेको आर्इरन ८८३ मोडलको मूल्य ४५ लाख ८५ हजार रहेको छ र नाडा अटो शोको अवसरमा यो बाइकमा ८५ हजार रुपैयाँ छुटको अफर सार्वजनिक गरिएको छ ।