काठमाण्डौ । जनस्तरबाट सरकारको तीव्र आलोचना हुन थालेपछि विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाउने र काठमाण्डौ उपत्यकामा असार १ देखि रात्रिकालीन बस सेवा सुरु गर्ने निर्णय फिर्ता लिएको छ । 

बिहीबार अबेर राति एक विज्ञप्ति प्रकाशित गर्दै विभागले आफ्ना सबै निर्णय फिर्ता लिएको हो। 

थप अध्ययन गरी ठोस निश्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुस भएकोले अर्को सूचना प्रकाशित नभइञ्जेलसम्मका लागि निर्णय फिर्ता लिइएको विभागले दाबी गरेको छ । 

विभागले बिहीबार अध्ययनपछि नै सार्वजनिक यातायातको भाडादरमा १२ देखि २० प्रतिशतसम्म वृद्धिको निर्णय सार्वजनिक गरेको थियो । भाडा वृद्धिको निर्णयसँगै उसले देशभरका लामो तथा छोटा दूरीका गन्तव्यहरुमा परिमार्जित भाडादरको सूचि समेत सार्वजनिक गरिसकेको थियो । 

यस्तै, रात्रिकालीन बस सेवा असार १ गतेदेखि सुरु हुने भन्दै विभिन्न १२ यातायात संचालकहरुको कम्पनीका बसहरुले राति ९ बजेदेखि १ बजेसम्म कुन–कुन रुटमा सेवा दिन्छन् भन्ने सूचि समेत सार्वजनिक गरिसकेको थियो। 

तर, यी दुवै निर्णय एकाएक फिर्ता भएका हुन्।

योसँगै असार १ गतेदेखि नै लागू हुने गरी काठमाण्डौ उपत्यकाको रिङरोडभित्र तथा भक्तपुर र किर्तिपुर नगरपालिकाको भित्री शहरी क्षेत्रमा सबै प्रकारका मालबाहक ढुवानीका साधनलाई प्रवेश तथा संचालनमा रोक लगाउने भनी गरिएको निर्णयबाट समेत विभाग पछि हटेको छ । 

सरकारले बजेटमार्फत कर्मचारीको तलब वृद्धि गरेसँगै बजारमा महंगीको मार देखिएको छ । यसमाथि सार्वजनिक यातायात र ढुवानीको भाडा वृद्धि हुँदा त्यसले सर्वसाधारणको चुलोसम्मलाई महंगीको लप्काले भेट्ने निश्कर्षसहित प्रधानमन्त्री ओलीले निर्णय फिर्ता लिन विदेशबाटै निर्देशन दिएपछि विभाग रातारात यूटर्न हुन बाध्य बनेको स्रोतको दाबी छ ।