काठमाण्डौ । यो वर्ष विश्वका चर्चित कतिपय अटोमोवाइल कम्पनीहरुले आफ्ना चर्चित मोडल बन्द गर्दैछन् । 

यसमा टाटाको नानो, हुण्डाईको इयोन, होण्डाको ब्रियो र फोर्डको फिगो रहेका छन् । 

निकट भविष्यमै ग्राहकलाई यी गाडीको फेसलिफ्ट भर्सन प्राप्त हुनेछ । 

यी मोडल भारतीय बजारमा बन्द हुने कारण त्यहाँ यो वर्षदेखि लागू हुन गइरहेको नयाँ सुरक्षा नीति हो । यसको अर्थ यी कम्पनीका माथि उल्लेखित चारैवटा मोडल सुरक्षित थिएनन् ।

यी गाडीहरुबाट प्रदूषणको मात्रा समेत बढी निस्किने भएकोले भारतीय बजारमा यसको बिक्रीवितरण बन्द हुन लागेको हो । भारतमा नयाँ सुरक्षा र प्रदूषणसम्बन्धी मापदण्ड सन् २०२० अप्रीलदेखि लागू हुँदैछ । कम्पनीहरुले त्यसअघि नै यी मोडलको उत्पादन बन्द गर्न लागेका हुन् ।

अटोमोवाइल कम्पनीहरुले असुरक्षित र वातावरणको हिसाबले समेत खराब समूहमा पर्ने यी चार मोडलहरुको बिक्री चाँडो गर्ने उद्देश्यले विभिन्न खालका अफर समेत सार्वजनिक गरिरहेका छन् । नेपालमा समेत यस्ता अफर आउने बताइएको छ । 

कम्पनीहरुले यी चारवटा मोडललाई अपग्रेड गर्ने छैनन्, कारण यो काममा निकै ठूलो धनराशि खर्च हुनेछ । यो खबरसँगै यी कारको बिक्रीमा समेत भारतीय बजारमा कमी आएको छ । भारतमा नबिकेका कार नेपालमा विभिन्न अफरसहित आउनसक्छन्, यसप्रति ग्राहक सचेत बन्नुपर्ने विज्ञ बताउँछन् ।

अब हेरौं कुन कुन मोडल नयाँ सुरक्षा मापदण्ड अनुसार उपयुक्त छैनन् त ?

१.टाटा नानो(TATA NANO)

टाटा कम्पनीले भारत, नेपाल लगायतका मुलुकमा सबैभन्दा सस्तो कारको रुपमा नानोलाई बजारमा उत्रिँदा तहल्का नै मच्चिएको थियो । तर, कम्पनीले अपेक्षा गरेजस्तो यो मोडलले व्यापार गर्न सकेन । सुरुवाती मोडल नचलेपछि टाटाले यो गाडीमा लगातार विभिन्न परिवर्तन गर्दै गयो, तर केही जोर चलेन । तर, भारतमा लागू हुन लागेको नयाँ सवारी सुरक्षा तथा वातावरणको मापदण्ड अनुसार यो कार अनुपयुक्त छ, त्यसकारण कम्पनीले यसलाई बन्द गर्ने घोषणा गरिसकेको छ । 

२.हुण्डाईको इयोन(Hyundai Eon)

गाडीवाडीमा छापिएको खबर अनुसार हुण्डाईको इयोनलाई समेत बजारबाट फेजआउट गर्ने तयारी थालिएको छ । यो मोडललाई नयाँ नियमअनुसार अपग्रेड गर्नु निकै खर्चिलो रहेको र यहीकारण कम्पनी यो मोडलको उत्पादन नै बन्द गर्न लागेको बताइएको छ । इयोनको बिक्री पनि निकै शानदार रुपमा भएको थियो । हुण्डाईले यो मोडललाई सन् २०११ मा बजारमा उतारेको थियो । त्यसबेला सेन्ट्रोलाई फेजआउट गरिएको थियो । 

३. होण्डा ब्रियो(Honda Brio)


होडाको ब्रियोको समेत बजारमा निकै राम्रो माग छ । यो मोडललाई कम्पनीले सन् २०११ मा बजारमा उतारेको थियो । सुरुवातमा यो मोडलले बिक्रीमा भारत, नेपाल लगायतका देशमा रेकर्ड बनाएको थियो, तर केही समयपछि मोडलमा आएको विभिन्न समस्याले बिक्री ह्वात्तै घट्यो । सन् २०१६ मा यो मोडलमा कम्पनीले केही संसोधन र सुधार गर्यो, तर बजार लिन सकेन । अब होण्डाको नयाँ योजना ब्रियोलाई नयाँ अवतारमा उतार्ने रहेको छ । कम्पनीले यो मोडलको सेकेण्ड जेनेरेशन लञ्च गर्न सक्छ । 

४.फोर्ड फिगो( Ford Figo)


फोर्डको फिगो मजबुत कारमध्यको एक मोडलको रुपमा चिनिन्छ । कम्पनीले केही महिनाभित्रै यो मोडलको फेसलिफ्ट भर्जन लञ्च गर्न सक्नेछ । कम्पनीले हाल यसको उत्पादन समेत बन्द गरिदिइसकेको छ । नयाँ मोडलमा कारको अघिल्लो रुपमा पूरै परिवर्तन गरिनेछ । साथै फग ल्याम्पमा समेत परिवर्तन गरिनेछ । इन्टेरियरलाई पूर्ण रुपमा परिवर्तन गरिएको छ । कम्पनीले यो मोडललाई पेट्रोल र डिजेलको दुवै भर्जनमा ल्याउन खोजिरहेको छ ।