-भक्तराज रसाइली
काठमाण्डौ । मुलुकको विकासका लागि अपरिहार्य रहेको उद्योगधन्दामा राज्यले संरक्षण गर्न नसक्दा सफल उद्योगीको छवि बनाएर पनि सेयर बजारलाई अन्तिम इनिङका रुपमा स्वीकार गरी सक्रिय लगानीकर्ताको रुपमा क्रियाशील व्यक्ति हुन्–छोटेलाल रौनियार । 

पुख्र्यौली घर भारत भएपनि ७ पुस्तादेखि काठमाण्डौको मखन टोलमा बस्दै आएका उनको परिवार कपडा व्यापारमा होमिएको थियो । रौनियारले शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् भने त्रिविमा स्नातकोत्तर अध्ययन गर्दा गाउँ फर्क अभियानमा जान नसकेका कारण उनको डिग्री पूर्ण हुन सकेन । 

रौनियार नेपाल इन्भेष्टर्स फोरमका वर्तमान अध्यक्ष पनि हुृन् । लगानीकर्ताको हकहित र पूँजीबजारको विकास तथा विस्तारका लागि समेत सक्रिय रौनियार १६ वर्षकै उमेरदेखि समाजसेवामा होमिएका थिए ।सेवक समाजमा निवर्तमान अध्यक्ष, रौनियार सेवक समितिमा संरक्षक, बोलबम कावरिया संघमा संरक्षक, आफ्नो घर आश्रमका सल्लाहकार लगायत दर्जनौं सामाजिक संघसंस्थामा सक्रिय भूमिका निभाइरहेका रौनियार काठमाण्डौ १३ ताहाचलका स्थायी बासिन्दा हुन् । उनी फ्रेन्च, नेवारी, भोजपुरी, हिन्दी र अंग्रजी भाषामा समेत दखल राख्दछन् ।

२०३३ सालमा रौनियारले आफ्नी ममतामयी आमा गुमाउन पुगे । त्यसको एक वर्ष पनि नबित्दै ३४ सालमा पिता समेत गुमाए । शंकरदेवमा बी.कम.२०३३/३५ को ब्याचमा पढ्दै गरेका रौनियारलाई अब भने पारिवारिक विरासत र व्यापारलाई अगाडि बढाउने भार आइपर्यो । पूर्खाको कपडा व्यापारलाई गार्मेन्ट उद्योगमा परिणत गरेका रौनियार पिताको १३ दिने काजक्रिया सकेपछि आफ्नी दिदी स्व.फूलपाती रौनियारले केही काम गर्न उनको हातमा ६ हजार रुपैयाँ थमाइदिइन् । अल्लारे उमेरमा उनलाई व्यवसायमा होमिनुपरेको थियो । तर उनी कपडा व्यापारलाई गार्मेन्ट उद्योगमा मोडिफाइ गर्न चाहन्थे, जुन उनको पहिलो माया र प्राथमिकता समेत थियो ।

कपडाको कच्चापदार्थ ल्याएर पसल सुरु गरेका रौनियारको पसल नै पछि गार्मेन्ट उद्योगमा परिणत भयो । रौनियारले गार्मेन्ट निर्यात गरेको पहिलो देश भने जापान रहेछ । पसलमा अर्डर बढ्दै गएपछि उद्योगमा ढालेका उनले २०३७ सालमा गायत्री रौनियारसँग लगनगाँठो कसे । उनको उद्योगमा धर्मपत्नी गायत्रीले समेत फिनिसिङ विभागमा प्रडक्सन मेनेजरका रुपमा २८ वर्षसम्म सहयोग गरिन् । आदम एण्ड ईभ बुटिकका नाममा रहेको रौनियारको उद्योगमा o६३/६४ सालमा तत्कालीन माओवादीका युनियनको गुटबन्दी र हड्तालबाट उत्पादनमा अवरोध आई सो बुटिक  नै बन्द गरे । उनले आफ्नो उद्योगलाई राज्यले संरक्षण नगरिदिएको आरोप छ । त्यसपछि उनलाई नेपाल बस्न मन लागेन । उनी लण्डनतर्फ हानिए ।

लण्डनमा साथीभाइसँग भेटेर नेपाल फर्केपछि आफूले जोडेका सबै श्रीसम्पत्ति बेचेर लण्डन जाने निर्णयमा पुगे । नेपाल आएर आफू बिदेश जाने निर्णय साथीभाइलाई सुनाउँदा ‘मर्न जाने’ भनेर भनेको उनी झलझली सम्झन्छन् । अनि त उनलाई आफ्नो निर्णय गलत भएको र साथीले दिएको निर्णय सही लागेर नेपाल नै बस्न मन लाग्यो ।

न्यूरोडमा रहेको ब्रोकर नम्बर २० चलाइरहेका कलेजका साथी स्टक ब्रोकर प्रमोद खेतानलाई २०६५ सालताका भेट्न रौनियार न्यूरोड गए । त्यसपछि भने नियमित ब्रोकरहाउस धाउँदै उनले दिनचर्या कटाउन थाले । ‘त्यहाँ २/३ दिन गएर बसेपछि चिया कुकिज खाँदा मलाई पनि केही सेयर किन्दिउँ जस्तो लाग्यो ।’रौनियार सम्झन्छन्–‘ब्रोकर नम्बर ३४ का राजकुमार तिमिल्सिनालाई मैले त्यहीँ भेटेको हुँ। वहाँले पनि मलाई त्यसबखत धेरै गाइड गर्नुभयो ।’ 

उनले प्राथमिक बजारमा भने नेपाल इण्डोस्वेज बैंकको आइपीओ भरेका रहेछन् । जुन सेयर पछि उनको उद्योग बन्द गरेपछि बेच्दा सवा करोड रुपैयाँ हाता पारेछन् । दोस्रो बजारमा रौनियार पस्दा नेप्से इण्डेक्स ११ सय ७५ विन्दूबाट झरेर ३ सय ५० अंंकमा झरेको थियो ।त्यतिबेला लगानीकर्ताहरु आत्तिएर सस्तोमा सेयर फालाफालको अवस्था रहेको उनले विगत सम्झे । भाग्यमानी नै मान्नुपर्छ रौनियारलाई, यसकारण कि नेप्से इण्डेक्स वियरिस अवस्थामा रहँदा उनको  प्रवेश भयो । 

त्यतिबेला उनले दोस्रो बजारमा पहिलो चोटि नै सिद्धार्थ बैंकको २ सय ४० कित्ता प्रतिकित्ता २ सय ४० रुपैयाँमै किनेका रहेछन् । ‘नेप्से इण्डेक्स २ सय ९२ आइपुग्दा सूचीकृत कम्पनीका पीइओ रेसियो ७/८ मात्र थियो।’उनी भन्छन्–‘त्यतिबेला मैले भएभरको झिरीझ्याम्टा र ऋण गरेर सेयरमा लगानी ओइराए । हाल पीई रेसियो १०/११ भएका कम्पनी सर्वत्र पाइन्छ, जुन भोलिका दिनमा कमाउनका लागि अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय भएको मेरो ठम्याइ हो ।’

रौनियारले दोस्रो बजारमा सक्रिय कारोबार गर्दा हालसम्मकै सबैभन्दा बढी नाफा बूक गरेको कम्पनी भने एभरेष्ट बैंक रहेछ । प्रतिकित्ता ६६५ रुपैयाँमा किनेर ९सय ५०, प्रतिकित्ता ८ सयमा किनेर १२ सय, प्रतिकित्ता १५ सयमा किनेर २२ सयमा बेचेको रौनियारले सुनाए । उसो त नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकमा समेत मनग्यै नाफा बूक गरेको उनको दाबी समेत छ । 

सेयर बजार नाफा र घाटामा आधारित हुन्छ । रौनियारलाई घाटाको झट्का भने एनएचपीसीले दिएको सुनाए । सो कम्पनीको लाखौं कित्ता सेयर थुपारेका उनले १ सय ३५ देखि २ सय ५ रुपैयाँ प्रतिकित्तासम्म खरिद गर्न पुगे, तर अन्त्यमा उनले उक्त सेयर प्रतिकित्ता १ सय २५ रुपैयाँ हाराहारीमै बेच्नु परेको थियो ।

सेयर बजारमा फाइनान्सियल दिमाग आवश्यक रहेको ठान्ने रौनियार संसारमा सबैभन्दा छिटो कमाउने र गुमाउने सेक्टरमध्ये आइटी अनि सेयर बजार नै अग्रपङ्तिमा पर्ने गरेको दाबी गर्छन् । स्टक एक्सचेञ्जमा कारोबार हुने कम्पनीहरुको ग्रोथ र कम्पनी प्रोफाइलमा ध्यान दिएर भविष्यवाणी गर्ने ल्याकत राख्दै बोल्ड निर्णय लिएमा सेयरबाट कमाई हुने रौनियारको ठम्याइ छ । ‘मैले आजभन्दा २ वर्षअघि नै एनएमबी र एनआइसीको ग्रोथ राम्रो छ भन्ने गरेको थिएँ ।’ उनले थपे–‘आज यसको सेयरमूल्यले प्रमाणित गरिदियो । सेयरमूल्य उच्च भएका कम्पनीमा भन्दा भोलिका दिनमा ग्रोथ हुने पाटो बुझ्न जरुरी ठहर्छ ।’

रौनियार पछिल्लो ३/४ महिनादेखि नेप्सेसँग आक्रोशित छन् । उनी भन्छन्–‘अनलाइन कारोबार प्रणालीको त्रूटि यथावत रहेकोले अहिले सञ्चालनमा आएको अनलाइनलाई म अपाङग अनलाइन भन्छु,जुन आजका मितिसम्म पनि सर्टिफाइ भएको छैन ।’

नियामकहरुको निकम्मापनका कारण भारित औसत पुनः अप्ठ्यारो मोडमै पुगेकोमा रौनियार निकै क्रूद्ध हुन्छन । ‘पछिल्लो ४-५ महिनायता नेप्सेको अनलाइन र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्का भएदेखि म धेरै दुःखी र असन्तुष्टि छु ।’ रौनियारले भने–‘नेप्सेको भूमिका शंकास्पद र नकारात्मक भयो । नेप्सेको नयाँ स्वचालित अनलाइन कारोबार प्रणालीले जति माइलेज लिन पथ्र्यो, त्यो लिन सकेन ।’

सेयर बजारमा प्रवेश गर्नुअघि अग्रजसँग सल्लाह लिन र सेयरशिक्षा लिन रौनियार सुझाउँछन् । ‘रविन्द्र भट्टराईले भनेझैं थ्रीआईमा चनाखो रहनुपर्छ।’उनले भने–‘इन्फर्मेसन, इन्ट्रयाक्सन र इन्भेष्टमेन्टको चक्रलाई ध्यान दिनु जरुरी हुन्छ । बजार रातो हुँदा किन्ने र हरियो हुँदा बेच्न सक्नुपर्छ ।’
प्रफिट टार्गेटसहित बजारमा आए उचित कमाइ पनि हुने रौनियारको दाबी छ । ‘मुख्यतः कम्पनीको ग्रोथलाई हेरेर भने भविष्यवाणी गर्नुपर्छ । पोर्टफोलियोमा ७० प्रतिशत दीर्घकालीन र अल्पकालीन कारोबारका निम्ति ३० प्रतिशत छुट्याई लगानी गर्दा राम्रो हुन्छ ।’ उनले थपे ।

सेयर लगानीमा सफल हुने सूत्र विषयमा बिजशालाको जिज्ञासामा प्रतिबद्ध र चनाखोपन, शीघ्र निर्णय क्षमता र अध्ययन अति नै आवश्यक रहेको रौनियार बताउँछन् । बजारमा चलिरहेका सेयरमा मात्र नाफा नहुने जिकिर गरेका रौनियार कम्पनीको आर्थिक प्रोफाइल र स्वयम् कम्पनीले बोल्ने दाबी समेत गर्छन् ।