गोरखा । निजी आवास (घर) बनाउन सरकारले दिने अनुदान रकम पाउने सूचीमा आफूहरुको नाम छुटेको भन्दै गोरखाको ताप्ले गाविसका भूकम्पपीडितले गाविस कार्यालयमा ताला लगाएका छन् । 

करिब २० जनाको संख्यामा शुक्रबार दिउँसो कार्यालय पुगेका भूकम्पपीडितले ‘वास्तविक भूकम्पपीडितको नाम छुटाइएको’ भन्दै ताला लगाएका हुन् । 

यसअघि घर पूर्ण रुपमा क्षति पुगेको भन्दै रातो कार्ड लिएका भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा छुटेपछि उनीहरु आक्रोशित भएका हुन् । लाभग्राही र गाविस सचिवबीच अनुदान वितरण प्रक्रियाका लागि सम्झौताको काम भइरहेका बेला उनीहरुले कार्यालय बन्द गराएका हुन् । 

गाविस सचिव घनश्याम ढकालका अनुसार गत जेठ २६ गतेदेखि निजी आवास निर्माणका लागि अनुदान दिन लाभग्राहीसँग सम्झौता सुरु गरिएको हो । रातो कार्ड लिएका तर अनुदान पाउने सूचीमा नाम छुटेकाहरुले कार्यालय बन्द गराएको उनले बताए । आजसम्म ८०० जनाको सम्झौता भैसकेको छ । 

एक हजार २९८ जनाले रातो कार्ड पाएको भएपनि गाउँमा इञ्जिनियर गएर तथ्यांक संकलन गरेपछि एक हजार २२८ जनाको मात्रै अनुदान पाउने सूचीमा नाम निस्केको थियो । पूर्व गाविस अध्यक्ष देवीप्रसाद श्रेष्ठले भूकम्पले घर भत्किएपनि कसैको नाम आएको, कोहीको नआउँदा समस्या देखिएको बताए । 

अनुदान पाउने सूचीमा नाम छुटेमा गुनासो गर्न फाराम भर्ने नियम भएपनि सो नियम नबुझेर गाउँ–गाउँका मानिसहरु नाम छुटेको गुनासो गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा दिनहुँजसो आउने गरेका छन् ।