काठमाण्डौ । साउदी अरेबियाले भ्रष्टाचारको आरोपमा गिरफ्तार भएकाहरुको सबै ब्याङ्क खाता रोक्का गरिने बताएको छ।

भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्री नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको सूचना मन्त्रालयले उक्त जानकारी दिएको हो।

उसले भ्रष्टाचारसँग सम्बन्धित अनुसन्धानमा आउने सबै धनसम्पति राज्यको नाममा दर्ता गरिने बताएको छ।त्यस प्रकरणमा महान्यायाधिवक्ताले दृढतापूर्वक न्याय सम्पादन गरिने बताएका छन्।

अभियुक्तको हैसियत र पदबाट न्यायापालिकाले गर्ने व्यवहारमा कुनै पनि किसिमको प्रभाव नपर्ने महान्यायाधिवक्ता शेख साउद अल मोजेबले जनाए।

भ्रष्टाचार विरोधी समितिको नेतृत्व साउदी अरेबियाका उत्तराधिकारी युवराज मोम्मद बिन सलमानले गरेपछि भएका ती गिरफ्तारीलाई नाटकीय र अप्रत्याशित घटनाको रुपमा लिइएको छ। प्रभावशाली राजकुमारहरु समेतको उक्त गिरफ्तारीले देशभरि तरंग उत्पन्न गरिदिएको छ।

पक्राउ पर्नेहरुमध्ये सबैभन्दा उच्च ओहदाका प्रभावशाली व्यक्ति लण्डनमा रहेको एउटा होटलका मालिक अर्बपति व्यापारी राजकुमार अल वालिद बिन तलाल हुन्। त्यस्तै पक्राउ परेका अर्का राजकुमार मितेब बिन अब्दुल्लाहले 'न्याशनल गार्ड'को नेतृत्व गर्दथे।

राजकुमार मितेब बिन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ । उनीहरुको गिरफ्तारीपछि देशको सबै सुरक्षा फौजको नेतृत्व युवा युवराज मोहम्मद बिन सल्मानको हातमा  पुगेको छ। उनको सिंहासनतर्फको यात्रालाई चुनौती दिने शक्तिमा रहने गरी कोही पनि बाँकी राखिएको छैन। खासगरी साउदी अरेबियाका युवाले उनलाई लोकप्रिय, चमत्कारिक र दूरदृष्टि भएका सुधारकको रुपमा लिन्छन्।

उनीहरुले युवराज सलमानलाई पुराना मान्छेले गरेको दशकौं लामो शासनपछि नयाँ ढुकढुकी ठान्छन्।

तर, अरु त्यहाँका पुरातनपन्थी नागरिकले उनलाई गैरजिम्मेवार र जिद्धीवाल ठान्छन्। उनीहरुले युवराज सलमानले यमनमा नजितिने युद्धमा साउदी अरेबियालाई फसाएको र छिमेकी कतारलाई बहिष्कार गरेर आपसी सौहार्दता ध्वस्त बनाएको आरोप लगाउँछन्।

बीबीसीबाट साभार