काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीको कुरा आयो भने हामी सुरुमै एप्पल, अल्फाबेट(गुगलको मातृ कम्पनी), माइक्रोसफ्ट, अमेजन र फेसबुकको नाम भन्छौ । यी सबै विश्वप्रतिष्ठित कम्पनीको आम्दानी अरबौं डलर रहेको छ । यी कम्पनीहरुले विभिन्न डिजिटल प्रोडक्टस तथा सेवाहरुको माध्यमबाट मोटो रकम कमाउने गर्छन् ।

भिजुअल क्यापिटलिस्ट वेबसाइटले एक रिपोर्ट प्रकाशन गरेको छ, जसमा यी प्रतिष्ठित कम्पनीहरुको कुल कमाईको कति हिस्सा तिनका लोकप्रिय प्रोडक्ट्सबाट कभर हुन्छ भन्ने चाखलाग्दो बिषय प्रस्तुत गरिएको छ । हेरौं कसले कुन प्रोडक्टस्बाट कति कमाउँदा रहेछन् ?

माइक्रोसफ्ट
टेक्नोलोजी कम्पनी माइक्रोसफ्ट कर्पोरेशनको आम्दानी उसका विभिन्न सेवा तथा प्रोडक्ट्सहरुमा बाँडिएको छ । कम्पनीको कुल आम्दानीको २८ प्रतिशत कमाई माइक्रोसफ्ट अफिसबाट हुन्छ । यसपछि विण्डोज सर्भर तथा विण्डोज यूजरको हिस्सेदारी रहेको छ, जसको हिस्सा २२ प्रतिशत छ ।

एक्सबक्स, विण्डोज अपरेटिङ सिस्टम, बिङ तथा अन्य एडभरटाइजिङ विजिनेशको माइक्रोसफ्टको कुल आम्दानीमा क्रमशः ११, ९, ७ र ५ प्रतिशतको हिस्सेदारी रहेको छ । यस अलावा १८ प्रतिशत आम्दानी अन्य माध्यमबाट हुने कम्पनीले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

एप्पल
एप्पलको आम्दानीको सबैभन्दा ठूलो हिस्सा आइफोनबाट प्राप्त हुन्छ । कम्पनीको कुल कमाईमा आइफोनको हिस्सा ६३ प्रतिशत रहेको छ । यसपछि आइप्याड तथा आइम्याकको कमाईको हिस्सा क्रमशः १० र ११ प्रतिशत रहेको छ । अन्य प्रोडक्टसबाट ५ प्रतिशत आम्दानी हुन्छ । यस अलावा आइक्लाउड, एप्पल म्यूजिक, आइट्यून्स जस्ता सेवाहरुको कुल कमाईमा हिस्सेदारी ११ प्रतिशत रहेको छ ।

अल्फाबेट
गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको कमाईको सबैभन्दा ठूलो हिस्सा गुगल एडवर्डस तथा यूट्यूबबाट प्राप्त हुन्छ । यी दुई प्रोडक्ट्सबाट मात्र कम्पनीको कुल कमाईको ८८ प्रतिशत प्राप्त हुन्छ । गुगल प्ले सर्भिस तथा पिक्सेल प्रोडक्ट्सको आम्दानीले ११ प्रतिशतको हिस्सा ओगट्छ । यस अलावा अन्य सहायक कम्पनीहरु जस्तै, नेस्ट, गुगल फाइबर तथा भेरिलीबाट १ प्रतिशतको हिस्सेदारी प्राप्त हुन्छ ।

फेसबुक
सोसल मिडियामा विश्वकै टप फेसबुकको कमाईमा फेसबुक विज्ञापनहरुबाट सबैभन्दा ठूलो हिस्सा प्राप्त हुन्छ । फेसबुक एड्सबाट फेसबुकको कुल कमाईको ९७ प्रतिशत हिस्सा प्राप्त हुन्छ । कम्पनीलाई ३ प्रतिशतको कमाई अन्य माध्यमबाट प्राप्त हुन्छ ।

अमेजन
विश्वको सबैभन्दा ठूलो र प्रतिष्ठित इकमर्स कम्पनी अमेजनको कुल कमाईको ७२ प्रतिशतको हिस्सा यसको अनलाइन सपिङ विजिनेशबाट प्राप्त हुन्छ । यस अलावा अमेजन प्राइम तथा मिडिया सर्भिसबाट कम्पनीलाई १८ प्रतिशत आम्दानी हुन्छ । अमेनजले वेब सर्भिसबाट ९ प्रतिशत र अन्य माध्यमबाट १ प्रतिशत आम्दानी गर्छ ।