काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनीपछि गुड्विल फाइनान्सले पनि ऋणपत्र निश्कासनको प्रक्रियालाई अगाडि बढाएको छ । 

गुड्विल फाइनान्स कम्पनी लिमीटेडले पनि आइसीएफसीले झै वार्षिक १२ प्रतिशत ब्याजदरको अफरसहित २५ करोड रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

ऋणपत्र दश वर्षे अवधिको हुनेछ । ऋणपत्रमा लगानी गर्नेलाई अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । 

योसँगै गुड्विल फाइनान्स ऋणपत्र जारी गर्ने देशकै दोश्रो वित्त कम्पनी बन्नेछ ।

कम्पनीले रु. १ हजार दरका २ लाख ५० हजार इकाई ऋणपत्र निश्कासन गर्नेछ । 

धितोपत्र बोर्डले कम्पनीको आवेदन स्वीकृत गरेपछि बाँकी प्रक्रिया पूरा गरी ऋणपत्र निश्कासन हुने बताइएको छ । 

त्यसकै प्रक्रियाको रुपमा कम्पनीले ऋणपत्रको रेटिङ गराएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गुड्विल फाइनान्सको आउन लागेको ऋणपत्रलाई ‘इक्रा एनपी एलबीबी’को रेटिङ प्रदान गरेको छ ।

यस्तो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।