काठमाण्डौ । जनता बैंकबाट‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरिएको छ । 

रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गर्ने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’मा देशका बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताका लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । 

सो सहयोग रकम बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरे ।

‘बिद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो बिकासमा शिक्षाजस्ता विषयहरु समेत समेटिने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुनेछ । 

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत वर्षहरुदेखि नै ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर विकासका लागि सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

जनता बैंकले हाल देशभरीबाट गरी कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा र ३ एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।