काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई डबल अफरको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो बिमा कम्पनीले आगामी असार ९ गते आठौं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि २३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश र बोनस सेयरको पूँजीकरणपछि कायम हुन आउने पूँजीको ५० प्रतिशत हकप्रद सेयरको प्रस्ताव साधारणसभामा प्रस्तुत हुने कम्पनीले जनाएको छ । 

यो कम्पनीको सेयरधनी दर्तापुस्तिका जेठ २९ गतेदेखि बन्द छ । यसको अर्थ जेठ २८ गतेसम्म यो बिमा कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र ८ प्रतिशत बोनस सेयर पाउने र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् । 

वार्षिक साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वितरणपछि यो कम्पनीको चुक्तापूँजी ८९ करोड १० लाखको उचाईमा पुुग्नेछ ।