काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बिहीबार बिहान बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच आइपीओ बिहीबार बिहान १० बजे बाँडफाँड हुने भएको हो । 

यो कम्पनीले बैशाख १६ गतेदेखि २० गतेसम्म निश्कासन गरेको आइपीओमा मागभन्दा करिब २३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा ३ लाख ८ हजार आवेदकले ५७ लाख १९ हजार कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले कुल २ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये ३८७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १२ हजार ५०० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ३३ हजार ६२५ सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो हिसाबले २३ हजार ३६२ जनाले १० कित्ताको दरले आइपीओ पाउनेछन् । यसरी आवेदन दिएकामध्ये २ लाख ८४ हजार ६३७ आवेदकको हात रित्तो हुनेछ । 

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्तापूँजी रु.५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाख हुनेछ । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवार शुुभारम्भ गरेको हो ।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालयमार्फत ११,००० बढी विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्ध गरिसकेको छ ।