काठमाण्डौ  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजार मूल्यमा बिहीबार एकाएक उछाल आएर पोजिभिट सर्किट लागेको छ। 

बिहान बजार खुलेदेखि कम्पनीको सेयर मूल्यमा तीव्रगतिमा बढ्न थालेसँगै डेढ घन्टाकै अवधिमा सर्किट लागेको हो । कम्पनीको सेयरमा खरिद चापमात्र देखिएको छ भने बिक्री गर्ने एकजना पनि नभएका कारण मूल्य बढेर पोजिटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य बिहीबार प्रतिकित्ता ३८ रुपैयाँले बढेर ४२३ रुपैयाँ पुगेको छ । कम्पनीको बुधबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३८५ रुपैयाँ थियो ।  

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको सेयर ९ हजार ३८० कित्ताको खरिद आदेश पोस्ट भएको छ भने बिक्री आदेशतर्फ कुनै पोस्ट भएको छैन । बजारमा यो कम्पनी निकट भविष्यमै बलियो एक लघुवित्त कम्पनीसँग मर्जरमा जान लागेको सूचना चुहिएसँगै कम्पनीको सेयरमा खरिद चाप बढेको हुन सक्ने जानकारहरु बताउँछन् । 

यो कम्पनीले केही समयअघिमात्रै सर्वसाधारणका लागि सेयर जारी गरेको थियो ।