काठमाण्डौ । मर्जर र लाभांश पारितको मुख्य अजेन्डासहित गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिले संस्थाको चौथो वार्षिक साधारणसभा मंसिर १४ गते धनकुटाबजारमा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६१ प्रतिशतले हुन आउने ५९ लाख मूल्याबराबरको बोनस सेयर र ०.४० प्रतिशतले हुन आउने ३ लाख १० हजार ५२६ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) पारित गर्नेछ ।

यसैगरी सभाले मुख्य अजेन्डाका रुपमा राखिने अन्य इजाजतपत्र ‘घ’ वर्गका एक वा एकभन्दा बढी वित्तीय संस्थाहरुसँग आपसमा गाभिने वा प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने, सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता र लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 
सभाले संस्थाका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्ने छ ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक २७ गतेदेखि मंसिर १४ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । यसको अर्थ कात्तिक २६ गतेसम्म संस्थाको सेयरधनीहरु कायम हुनेहरुमात्र लाभांशको भागिदार बन्न सक्नेछन् ।