काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । 

योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् । 

यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौं । यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ’। 

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एककरोडभन्दा बढीले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।