काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असोज १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। जसमा संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर रहेका छन्। 

संस्थापक समूहको सेयर खरिदका लागि विद्यामान संस्थापकले मात्र र सर्वसाधारण समूहको सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकोले लगानीकर्ताले बोलपत्र पेस गर्दा सोही मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधीनमा रहने गरी सम्पूर्ण सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। 

सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नागपोखरीस्थित एनएमबी क्यापिटलको कार्यालय वा एनएमबी बैंकका विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम मिति यही असोज १९ गते बैंकिङ समयसम्म तोकिएको छ।