काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग आबद्ध भएको छ। 

फाइनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उद्देश्यले आइतबार दुई संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एससीटीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसबाट फाइनान्सका ग्राहकलाई विविध आवश्यकताबमोजिम छिटो-छरितो, मितव्ययी र सरल ढंगले बैंकिङ सेवा र सुविधाहरु प्राप्त हुने छन्।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ। डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन्।