काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन् । 

उनले नेपालीले उपयोग गर्नसक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको दाबी गरे । 

ठूला मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भए पनि हामीकहाँ त्यही चेकजाँचको विषयलाई ठूलो बनाइएको उनको दाबी छ । 

विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले प्रष्ट्याए । 

करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए । इतिहासमै पहिलो पटक यति धेरै आर्थिक वृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए ।

मूल्यवृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिक बृद्धि समग्रमा वैदेशिक व्यापारबाहेक सरकारको वित्त स्थिति राम्रो रहेको उनले दाबी गरे । 

वैदेशिक व्यापार समस्या अहिले सिर्जना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको भनाइ छ । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखापरेको मन्त्री खतिवडाले बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । 

२९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लण्डन गएका हुन् । 

सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानीसम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।