काठमाण्डौ । कलेजको फट्याईका कारण परीक्षाको मुखमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन थालेका छन् । 

सरकारले तोकेको भन्दा बढी रकम अबैधानिक रुपमा असूलेको भन्दै सो पैसा फिर्ता हुनुपर्ने माग राख्दै विद्यार्थीहरु रातको चिसोको समेत प्रवाह नगरी कलेजको गेटमा चर्का नाराबाजी गर्दै अनसन बसिरहेका छन् । 

चिकित्सा शिक्षा अध्ययन संस्थान(आइओएम)मा आफूहरुले कलेजले अबैधानिक रुपमा असूलेको रकम फिर्ताको माग गर्दै निवेदन दिएको, तर निवेदन दिएको एक हप्ता बढी भइसक्दा समेत पैसा फिर्ता गर्न कलेजले चासो नदिएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीहरुले बताएका छन् । 

उनीहरुले बिहीबार कलेज प्रशासनलाई अबैधानिक रुपमा असूलेको शुल्क फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर, आफ्नै विद्यार्थीबाट ज्ञापन लिन कलेज प्रशासनले अस्वीकार गरेपछि विद्यार्थीहरु सोही ज्ञापनपत्र लिएर विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए । त्यहाँ उनीहरुले प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँग भेट गरी आफ्नो समस्या सुनाउँदै ज्ञापनपत्र बुझाए । 

ज्ञापनपत्र बुझेपछि प्रजिअ पन्थले सरकारले तोकेको भन्दा बढी पैसा तिरेको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए । उनले अबैधानिक रुपमा रकम असुल्ने कलेजले पैसा फिर्ता नगरे कारबाही हुनेसम्मको आश्वासन विद्यार्थीहरुलाई दिएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर कलेज फर्किएका एमबिबिएस प्रथम वर्षका अधिकांश विद्यार्थीहरुलाई कलेज तथा होस्टल प्रवेशमा कलेजले रोक लगाएको छ । एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई दोश्रो, तेश्रो वर्ष र अन्य विद्यार्थीहरुले समेत आन्दोलनमा सहयोग गरिरहेका छन् । 

कलेजभित्रकै होस्टलमा बस्दै आएकाहरुलाई समेत भित्र छिर्न नदिएपछि आक्रोशित विद्यार्थीहरुले कलेजको गेटमै प्रदर्शन थालेका थिए । साढे ५ बजेदेखि सुरु भएको कलेज गेट अगाडिको प्रदर्शन अहिले अनसनको रुपमा परिणत भएको र कलेजको जिम्मेवारबाट उचित जवाफ नआएसम्म नउठ्ने भन्दै विद्यार्थीहरु चिसोको समेत प्रवाह नगरी नाराबाजी गरिरहेका छन् । 
कलेज प्रशासनले केही मान्छे खटाएर होस्टलमा बस्ने छात्राहरुलाई धम्क्याएको समेत विद्यार्थीहरुले बताएका छन् । अहिले अन्य छात्रहरु समेत रातको समयमा कलेजको तर्फबाट कुनै घटना होला कि भन्ने त्रासमा रहेका छन् । 
यस्तै आन्दोलनको क्रममा केही दिनअघि वीरगञ्जमा कलेज प्रशासनले गुण्डा प्रयोग गरी विद्यार्थीमाथि कुटपिट गरेको थियो । सोही दमनबाट तर्सिएका देशभरका एमबिबिएसका विद्यार्थीहरु अहिले चरणबद्ध आन्दोलनमा छन् । 

यसैबीच, चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका छन् । 

यसअघि पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका थिए। त्यहाँको आन्दोलनबाट समेत पैसा फिर्ता भएको छैन । सरकारले पटक पटक बढी पैसा फिर्ता गर्न भने पनि कलेजहरुले अटेर गरिरहेका छन् । सरकारले समेत पैसा फिर्ता गर्न भनेर हलुका ढंगले मात्र भन्दा कलेजहरु डराएका छैनन् । कतिपय विद्यार्थीहरुले सरकारी अधिकारीसँगकै मिलेमतोमा अबैधानिक रुपमा असूलिएको पैसा फिर्ता गर्न ढिलाई भइरहेको दाबी समेत गरेका छन् । 

सरकारले एक महिनाअघि त्रिविले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन दिएको थियो। गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको बैठकले दिएको उक्त निर्देशनबमोजिम रकम फिर्ता गर्न कलेजहरूले आनाकानी गरिरहेका छन्।