काठमाण्डौ । राजधानीको नयाँ बसपार्कमा बुधबारदेखि ‘बिजी मल’ नामको नयाँ तथा अत्याधुनिक सपिङ कम्प्लेक्स संचालनमा आएको छ । 

एक समारोहकाबीच पूर्वअर्थमन्त्री डा. रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उद्घाटन गरे । 

राजधानी र आसपासका ग्राहक तथा विभिन्न जिल्लाबाट राजधानी आउने मोफसलका ग्राहकहरुलाई समेत लक्षित गरी दैनिक सर्वसाधारणको ठूलो जमघट हुने गोंगबु बसपार्कमा ‘बिजी मल’ संचालनमा ल्याइएको मलका निर्देशक राजु गिरीले जानकारी दिए । 

सपिङ मल उद्घाटन समारोहमा बोल्दै निर्देशक गिरीले गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पूर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थलसहित बिजी मल संचालनमा ल्याइएको प्रष्ट्याए । उनका अनुसार मलमा विभिन्न घरायसी प्रयोगका सामाग्री, लत्ताकपडा, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, सिनेमाहल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ६० वटा पसल तथा शोरुम रहेका छन् । 

उद्घाटनको अवसर पारेर मलले ग्राहकरुलाई २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । यथेष्ठ पार्किङको सुविधा रहेको मल उद्घाटनको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै बैशाख २९ देखि जेठ १ गतेसम्म विभिन्न सांगीतिक कार्यक्रम समेत दैनिक रुपमा प्रस्तुत हुने बताइएको छ । 

यसैबीच, मल उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले पछिल्लो समय संचालनमा आएका व्यवसायिक प्रतिष्ठानको देशको अर्थतन्त्रमा ठूलो योगदान रहेको चर्चा गरे । उदार अर्थनीति लागू भएपछि मुलुकको आर्थिक विकासमा कायापलट भएको दाबी गर्दै उनले ठूला आयोजनाहरु जस्तै फाष्ट ट्रयाक, बूढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा सम्पन्न गर्न सके उत्तम हुने बताए । ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै डा. महतले भने–‘हल्ला गरेर केही हुँदैन, काम गरेर देखाउनु पर्यो । हामीसंग नीतिको हैन, कार्य क्षमताको मात्र अभाव छ । भाषणले मुलुक बन्दैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थ व्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताए । बिजीमल जस्ता ठूला व्यवसायिक प्रतिष्ठानले रोजगारी श्रृजना गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । 

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माले बिजी मल जस्ता व्यवसायिक प्रतिष्ठानका कारण पनि राजश्व असुली बढेको भन्दै मलले आगामी दिनमा करका माध्यमबाट उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे ।