काठमाण्डौ । आइडिया प्राय धेरै मानिससँग हुन्छ, तर सबैसँग त्यो आइडियालाई विजिनेशमा रुपान्तरण गर्ने हिम्मत हुँदैन । यस्तै, कतिपय मानिस यस्ता पनि हुन्छन् जसले आफ्नो युनिक आइडियाको मद्धतले सोच्दै नसोचेको सफलता समेत प्राप्त गरिरहेका हुन्छन् । यस्तै, एक व्यक्ति हुन् भारतका गुुरशरण सिंह, जसले एक सामान्य तथा अनौठो व्यापार गरे र आजको मितिमा मासिक ७ लाख रुपैयाँको हाराहारीमा नाफा कमाइरहेका छन् । आखिर त्यस्तो अनौठो विजिनेश के गरे उनले ? हामी पनि जानौं:

पञ्जावमा बसोबास गर्ने सिंहले कृषि बिषयमा मार्केटिङ म्यानेजमेन्टको अध्ययन पूरा गरे । उनले त्यसपछि एउटा कृषि फर्ममा जागिरे जीवनको सुरुवात गरेका थिए । तर, उनको मनमा पहिलादेखि नै केही न केही विजिनेश गर्ने योजना जिवितै थियो । तर, त्यस्तो कुनै आइडिया प्राप्त भइरहेको थिएन । यही बेला उनले सरकारले देशका किसानहरुलाई प्रांगारिक मलको प्रयोग बढाउने र त्यसका लागि किसानलाई प्रेरित गर्दै देशका उर्वर जमीनलाई मरुभूमि बन्नबाट रोक्न गरेको प्रयासतर्फ ध्यान दिए । फर्टिलाइजरमा नाइट्रोजनको मात्रा धेरै हुन्छ, यस्तै गोबरमा समेत नाइट्रोजन पाइन्छ । यहीबाट उनलाई विजिनेश आइडिया प्राप्त भयो र त्यसपछि उनले गाईको गोबरबाट तयार हुने मलको विजिनेश सुरु गरे । आज उनको कम्पनीको वार्षिक टर्नओभर १ करोड नेपाली रुपैयाँको हाराहारीमा रहेको छ । 

गुरुशरणले भारतीय मिडियालाई भने अनुसार वर्मी कम्पोस्ट बनाउने आइडिया त आयो, तर यसको सुरुवात कसरी गर्ने भन्ने बिषयमा केही अन्यौल थियो । उनले यो अन्यौल सरकारी अधिकारीहरुको सहयोगमा हटाउने सफलता पाए । केही सरकारी संस्थामा गएर प्रशिक्षण लिएपछि उनले वर्मी कम्पोस्ट बनाउन सुरु गरे । 

ऋणबाट सुरुवात
वर्मी कम्पोस्टको युनिट स्थापनाका लागि उनीसँग पैसा थिएन । यहीकारण उनले सुरुवमा १ लाख ७५ हजार भारु ऋण लिए । तर, यसमा उनलाई सरकारले कुनै अनुदान वा सहुलियत दिएन । तर, काम सुरु गरिसकेपछि उनलाई थाहा भयो कि यस्तो काम गर्ने युवालाई सरकारले अनुदान समेत दिन्छ । त्यसपछि उनले एउटा बैंकबाट ५ लाख भारु लोन लिए, जसमध्ये उनलाई ३६ प्रतिशत सरकारको तर्फबाट अनुदान प्राप्त भयो । केही संस्थाबाट खेतीमा प्रयोग हुने नयाँ नयाँ प्रविधिको बिषयमा समेत उनले ज्ञान हासिल गरे । 

वार्षिक ३ हजार क्वीन्टल कम्पोस्ट तयार
गुरुशरणका अनुसार उनले हाल वार्षिक ३ हजार क्वीन्टलसम्म वर्मी कम्पोस्ट उत्पादन गरी बजारमा पठाउने गर्छन् । उनले ५०० रुपैयाँ प्रति क्वीन्टलको दरमा बजारमा यो कम्पोस्ट बिक्री गर्छन् । उनको भनाई अनुसार उनले वर्षभरमा ८० लाख रुपैयाँ आम्दानी गर्छन । हाल उनको यो विजिनेश पञ्जाबमा मात्र सीमित छ, उनले अन्य प्रदेश तथा क्षेत्रमा समेत आफ्नो विजिनेश बढाउने बिषयमा योजना बनाइरहेका छन् । 

गोबरबाट बन्छ र्मी कम्पोस्ट
वर्मी कम्पोस्ट बनाउन गोबरको धेरै प्रयोग गरिन्छ । यस अलावा सडेगलेका पातपतिंगर र कुहिने फोहोरलाई समेत गोबरमा मिसाएपछि त्यसमा गड्यौला हालिन्छ । त्यसको केही दिनमा वर्मी कम्पोस्ट तयार हुन्छ । उनले धेरै गाईवस्तु पालेका छैनन्, त्यसकारण यो कम्पोस्ट बनाउन उनले आसपासका क्षेत्रबाट गोबर खरीद गर्ने गर्छन् । उनका अनुसार ३५ क्विन्टल गोबर खरीद गर्दा करिब १५०० भारु खर्च आउँछ । गोबरमा ४० देखि ५० प्रतिशतसम्म पानीको मात्रा हुन्छ । यसमा १७ देखि १८ किलो गोबर मिलाइन्छ । कम्पोस्ट ७० देखि ९० दिनमा तयार हुन्छ । 

नेपालमा पनि संभव छ यो विजिनेश 
नेपाल सरकारले समेत पछिल्लो समय खेतीयोग्य जमीन टुक्रा गर्न, जमीन खाली राख्न प्रतिबन्ध लगाएको छ । देशको कुल जीडीपीमा निकै ठूलो योगदान दिने कृषि क्षेत्रको सवलीकरणका लागि नेपाल सरकारले खेतीमा बढी जोड दिइरहेको छ । नेपालका खेतीयोग्य जमीनमा समेत अन्नबाली उत्पादनका नाममा रासायनिक मलखादको प्रयोग बढ्दो छ । यस्तो अवस्थामा प्रांगारिक मलको प्रयोग बढाउने सरकारी नीति खासै सफल बनिरहेको छैन । यस्तो परिस्थितिमा युवाहरुले गुरुशरणको सिको गर्न सके नेपालमा समेत यो विजिनेश फस्टाउने प्रशस्त संभावना देखिन्छ ।