काठमाण्डौ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा सख्त घाइते चालक पारसकुमार राईको मृत्यु भएको छ । 

गृहमन्त्रालयका अनुसार सामान बोकेर लुक्ला पुगेको नाईन एनएकेए कल साइन भएको विमान अवतरण गर्ने क्रममा दिउँसो २ बजेर ५ मिनेटमा रुखमा ठोक्किएर खसेको थियो । 

भीरमा भएको दुर्घटनामा गम्भीर घाईते राईको उद्धारमा निकै समय लागेको थियो । उनलाई उद्धार गरी लुक्ला अस्पतालमा उपचार थालिएको थियो । तत्काल काठमाण्डौ ल्याउने भनिए पनि खराब मौसमका कारण हेलिकोप्टर पुुग्न नसकेपछि उनको उपचारको क्रममै लुक्ला अस्पतालमै मृत्यु भएको हो । 

बिमानका सह–चालक सुजन मानन्धर र परिचारिका प्रज्ञा मानन्धरको अवस्था समेत गम्भीर छ । उद्धार लगत्तै मानन्धरलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाईएपनि खराब मौसमका कारण छेप्लुङ भन्ने स्थानमा अवतरण गरिएको छ । परिचारिका मानन्धरलाई पुनः लुक्ला अस्पताल नै लगिएको छ ।  सुजन र प्रज्ञा दुवैको अचेत अवस्थामा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सोलुुखुुम्बुुका प्रमुख माधव बुढाथोकीले ककपिटमा च्यापिएका दुवै पाईलटको उद्धार गर्न निकै कठीन भएकोले समय लागेको बताए । उनका अनुसार  विमान भाँचिएर दुई टुक्रा भएको छ । 

प्रहरीका अनुसार सो कार्गो बिमा अवतरणका क्रममा धावनमार्ग नपुुगी डिलमा रहेको सल्लाको रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको थियो ।