काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै गोर्खाज फाइनान्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा २०७५/७६ मा खुद नाफामा ५३२.३३ प्रतिशतले छलाङ मारेको छ ।

समीक्षा अवधिमा संस्थाले खुद नाफा ७ करोड १० लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा १ करोड १२ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले संस्था अघिल्लो वर्षको तुलनामा खुद नाफा ५ करोड ९७ लाख रुपैयाँले बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष ८८ लाख ९६ हजार रुपैयाँमा सीमित सञ्चालन मुनाफामा भारी छलाङ मार्दै संस्थाले यो वर्ष ११ करोड १ लाख रुपैयाँ पु¥याउन सफल भएको छ । अघिल्लो वर्ष २० करोड ९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी रहेकोमा बढाएर संस्थाले समीक्षा अवधिमा २४ करोड ७१ लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा देखिएको प्रगतिले संस्थाको व्यवसाय विस्तार निकै आक्रामक देखिन्छ ।

संस्थाले अघिल्लो वर्षको तुलनामा ४६.५६ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ५८ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ३९ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले ६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ११ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १४४.४३ रहेको संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९८८.८८ रुपैयाँ रहेको छ । संस्थाको पीई अनुपात ११ रहेको छ ।