काठमाण्डौ । गोली लागी टाउको एकापट्टिको भाग क्षतविक्षत भएको, गोलीका छर्राहरु मस्तिष्कभित्र छरिएर गम्भीर बनेका एक बिरामीको काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले सफल सल्यक्रिया गरेको छ । 

नेपालको चिकित्सकीय इतिहासमै यसलाई दुर्लभ शल्यक्रियाको रुपमा लिइएको छ । 

नर्भिक अस्पतालले टाउकोमा गोली लागी जटिल अवस्थामा रहेका ३६ वर्षीय रामजी चेपाङको सफल शल्यक्रिया गरेको हो । 

उनलाई चिन्ताजनक अवस्थामा धादिङको गजुरी हस्पिटलले रिफर गरेको थियो । राजधानीका अन्य अस्पतालमा उपचार संभव नभएपछि असार १९ गते नर्भिक ल्याइएको चेपाङको जटिल शल्यक्रिया सफल बनेको हो । 

कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्कभित्रसम्म छरिएर रहेको निजको बरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. राजीव झाको टोलीले सोही दिन सफल सल्यक्रिया गरेको थियो । 

अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएका मस्तिकमा गोली लागेकै कारण चेपाङले बारम्बार वान्ता गर्ने गरेका र उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्थामा अस्पताल पुर्याइएको थियो ।

टाउकोका खप्परको हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्ली समेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेको र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपष्ट रहेको अवस्थामा मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउँदै, मस्तिष्कभित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर, मस्तिष्कबाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफल सल्यक्रियात्मक उपचार नर्भिकले गरेको हो ।

चेपाङलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिएको थियो भने असार १९ गते बिहीबार बिहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो ।

सोही दिन अर्थात् असार १९ गते निजको शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । हाल रामजी चेपाङ नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा स्वास्थ्य लाभ गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनलाई छिटै वार्डमा सारिदैछ ।

उनलाई गोली लाग्नेबित्तिकै स्थानीय विनोद चेपाङको सक्रियतामा सोही राति धादिङस्थित गजुरी हस्पिटल पुर्याइएको ििथयो । त्यहाँ रक्तश्राव रोक्न ब्याण्डेज लगाइएपछि अक्सिजनसहित बिरामीलाई हस्पिटलको रिफरमा नर्भिक ल्याइएको थियो । 

सहयोगी निवोद चेपाङका अनुसार घाइतेलाई सर्वप्रथम असार १९ गते विहान ४ः०० बजेतिर ट्रमा सेन्टर पुर्याइएको थियो । तर,  त्यहाँ शैया उपलब्ध नभएको बताइएपछि, तत्कालै अर्थात् विहान ४ः२५ बजेतिर अन्नपूर्ण न्यूरो हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि स्नायु शल्यचिकित्सक उपलब्ध नभएको भन्दै फिर्ता लैजान सुझाव दिएपछि घाइतेलाई विहान ५ः०० बजे नर्भिकको  आकस्मिक कक्षमा पुर्याइएको थियो । ५ः२५ बजे निजलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

घाइते चेपाङ धादिङ बेनीघाट रोराङ गाउँपालिकाका वडासदस्य समेत हुन्।