काठमाण्डौ । उद्योग वाणिज्य महासंघको मतगणना नसकिँदै किशोर प्रधानले हार स्वीकार गरी प्रत्यासी शेखर गोल्छालाई बधाईं दिएका छन् । 

जिल्लानगर, वस्तुुगतका अधिकांश सदस्यहरुमा गोल्छा समूहका उम्मेद्वार विजयी भएपछि र यी समूहमध्ये ५० प्रतिशत मतभार रहने जिल्लानगरतर्फ समेत गोल्छा भन्दा पछाडि परेपछि प्रधानले हार स्वीकार गरेका हुुन् । प्रधान एशोसिएटतर्फ गोल्छा भन्दा निकै कमजोर रहेका छन् । यही कारण, उनको प्यानलले एशोसिएटतर्फ उम्मेद्वार नै पाएको थिएन । 

मतगणनास्थलमा रहेका किशोर प्रधानले हार स्वीकार गर्दै शेखर गोल्छालाई शुुभकामना दिंदै जितको माला लगाइदिएका छन् । शेखरको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । 

जिल्लानगरतर्फ शेखर ६१ मत प्राप्त गरेका छन् भने किशोरले ४२ मत मात्र ल्याएका छन् । वस्तुुगतमा भने किशोरले शेखरभन्दा ४ मत बढी ल्याए । शेखरले वस्तुुगतमा ४७ मत मात्र प्राप्त गरे । महासंघमा वस्तुुगतको मतभार २० प्रतिशत र जिल्लानगरको ५० प्रतिशत रहने व्यवस्था छ । ३० प्रतिशत मतभार रहेको एशोसिएटमा गोल्छाको पकड राम्रो रहेकोले समेत पूरा मत परिणाम नआउँदै प्रधानले हार स्वीकार गरेका देखिएको छ । 

महासंघमा वस्तुुगत उपाध्यक्षमा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन् । जिल्लानगरमा भने प्रधान समूहको प्रमोद श्रेष्ठले बाजी मारेका छन् । एशोसिएट उपाध्यक्षमा गोल्छा समूहका उम्मेद्वार चन्द्र ढकाल यसअघि नै निर्विरोध भइसकेका छन् । वस्तुुगत र जिल्लानगरतर्फबाट निर्वाचित हुने कार्यकारिणी सदस्यमा समेत गोल्छा समूहको राम्रो बर्चश्व स्थापित भएको छ । एशोसिएटमा उम्मेद्वार दिएका २२ जनामध्ये प्रधान समूहका ३ जना मात्र छन् 

यस्तो हुनेछ महासंघको नेतृत्व
केही महिनाअघि उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अबको महासंघको बागडोर पहिलोपटक महिला अनुहारको रुपमा भवानी राणाले सम्हाल्ने छिन् । तीन वर्षसम्म राणाको कमाण्डमा चल्ने महासंघमा त्यसपछिको नेतृत्व भने शेखर गोल्छाले सम्हाल्नेछन् । एशोसिएट, वस्तुुगत उपाध्यक्षमा गोल्छा प्यानलकै उम्मेद्वारले जितेका कारण काम गर्न निकै सहज हुनेछ । प्रधान समूहबाट जिल्लानगरका उपाध्यक्ष प्रमोद श्रेष्ठ मात्र रहेका कारण यो समूह महासंघमा अल्पमतमा परेको छ ।