-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवल आसपासमा ठूला साना होटल खुल्ने क्रम बढेको छ । पछिल्ला समय  बुटबल, भैरहवा तथा आसापासमा  साना ठूला गरी १५ सय भन्दा बढी सञ्चालनमा आएका छन् । 

रुपन्देहीमा प्रदेश नम्बर ५ को राजधानी  भैरहवामा अन्तर्राष्ट्रिय  बिमानस्थल महामानब गौतमबुद्धको जन्मथलो लुम्बिनी तथा नेपालकै पहिलो बिशेष आर्थिक क्षेत्र सेजमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी रुपन्देहीका होटलमा ४५ अर्बको लगानी गरिएको छ ।

होटल ब्यबसायी संघ बुटबल, तथा सिद्धार्थ होटल ब्यबसायी संघको तथ्यांक अनुसार बुटवलमा १४ सय र भैरहवामा १ सय १६  साना ठूला होटल सञ्चालनमा आएका छन् ।

पछिल्लो समयमा बुटबलमा ठूला होटलमा लगानी गर्न सुरु गरिएको छ । बुटबलमा अहिले २५ करोडको लगानीमा होटल लक्ष्मी सुरु भएको छ भने होटल एभिन्यु ५० करोडको लगानीमा सुरु भएको छ । रु. १० करोडको लगानीमा  काठमाण्डौको एक कलवार समूहले होटल सञ्चालनका लागि निमार्णको काम सुरु गरेको छ । बाहिरबाट आउनेको संख्या समेत बढ्दै गएको छ ।

होटल ब्यवसायी समिति बुटबलका अध्यक्ष समुद्र जीसी भन्छन्–‘लुम्बिनी नजिकै भैरहवामा सुरु भएको देशकै वैकल्पिक अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल, भैरहवामै सुरु भएको विशेष आर्थिक क्षेत्र सेज लगायत प्रदेश नं ५ को राजधानीका कारण व्यवसायीले होटलमा लगानी बढाएका हुन् ।’

उनले ५ करोडभन्दा साना लगानीकर्ता अत्यधिक रहेको बताएका छन् । बुटबलमा तारे होटल भने अहिलेसम्म नभएको बताए । समितिमा आबद्ध रहेका होटललाई तीन समूहमा बिभाजन गरेको उनको भनाई छ ।  

१ करोड भन्दामाथि लगानी गर्नेको संख्या २ सय भन्दा बढी रहेको छ । होटल पार्टिप्यालेस दुबै १ देखी ५० करोड सम्मका रहेका छन् । तिनलाई  ए समूहमा राखिएको छ । ए लेबलका होटलमा एसी पार्किङ लगायतका सुबिधा सम्पन्न रहेका छन् ।

त्यस्तै १ करोड भन्दा तल २५ लाखसम्म  रहेकालाई बी समूहमा र २५ देखि तल रहेका सबैलाई सी समूहमा राखिएको उनले बताए । ए समूहमा सबै सुबिधा सम्पन्न होटल रहेका छन् । यी होटल स्टार भन्दा कम नरहेका बेलबासेको भनाई छ । 

बुटबल उपमहानगरपालिका तिलोत्तमा, देबदह, सैनामैना तथा गाउँपालिकामा रहेका होटलहरु संघमा आबद्ध रहेको बताए । बुटबलमा ५० भन्दा बढी ठूला आधुनिक होटल थपिएका जीसीको भनाई छ । उनका अनुसार अहिलेका नयाँ होटलमा नयाँ प्रविधि र सेवायुक्त पर्यटनमैत्री होटल बढी छन ।

आधुनिक होटलमा फ्री वाइफाई, ट्रेकिङ पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज, स्विमिङ, सेमिनार हल, मनोरञ्जन हल, खानाका विशेष परिकार, ध्यान योग शिविर, सरसफाइ सवारी साधन, डान्स तथा दोहोरी राखिएको जीसीको भनाई छ । यहाँ खुलेका होटलमा ८ हजार बढी मजदुर  कार्यरत रहेका छन् । बुटबलमा दैनीक १० हजारलाई खाना बस्नको सुबिधा रहेको जिसीको भनाई छ ।

उता रुपन्देहीको सदरमुकाम  भैरहवामा रहेको सिद्धार्थ होटल ब्यबसायी संघमा १ सय १६ बटा होटल आबद्ध छन् । स्टार होटल नभएको र अहिलेसम्म लुम्बिनी र भैरहवामा गरी २० अर्ब भन्दा बढीको लगानी भएको सिद्धार्थ होटल  ब्यबसायी एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठल बताए । 

होटलमा ५ हजार भन्दा बढीले रोजगारी पाएका र दैनिक ८ हजार भन्दा बढीलाई बस्नखानाको सुबिधा दिनसक्ने क्षमता यहाँका होटलमा छन् ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार लुम्बिनी आउने पर्यटक सबै बस्दैनन्, उनीहरुमध्ये ३० प्रतिशत मात्र होटलमा बस्छन । ५० प्रतिशत र्फकन्छन र  २० प्रतिशत गुम्बाहरुमा बस्छन् ।

लुम्बिनी आएका ३ लाख भारत, श्रीलंका, पाकिस्तान लगायतका पर्यटकलाई भिसा फ्रि बनाईएको कारण उनीहरु आउने जाने गर्दछन । १ लाख ५० हजार युरोपीयनलाई भिसामा  बढी राजश्व लिने कारण उनीहरु बस्छन । लुम्बिनीमा यसबर्ष ७ लाख पर्यटक भ्रमण गरेका छन ।

तारे  होटल खुल्दै
भैरहवामा २ बटा तारे होटल खुल्ने तयारी रहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । उनका अनुसार लुम्बिनीमा १ अर्ब २५ करोडको लगानीमा होटल पबन ईन्टरनेशनल सुरु भएको छ  छ भने  अर्काे नयाँ नेपाल भारतको सिमाबेलहियामा १ अर्ब ५० करोडको लगानीमा  दिपप्रकाश स्टार होटल संचालनको तयारी भइरहेको छ । सो होटल निमार्णमा अहिलेसम्म ९० करोड खर्च भइसकेको र निर्माण पूरा भइसक्दासम्म १ अर्ब ५० करोड लगानी लाग्ने बताइएको छ ।

श्रेष्ठका अनुसार तिलोत्तमा नगरपालिकाको कोटिहवामा पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्टले सेवा सुरु गरिसकेको छ । ५ करोड २० लाखको लगातमा उक्त होटल सुरु भई सेवा दिइरहेको छ । 

लुम्बिनी र आसपासको क्षेत्र अन्तराष्ट्रिय पर्यटन सहर बन्दै जाँदा अन्यत्र होटल व्यवसायमा रमेका व्यवसायी समेत यहाँ आकर्षित भएका बुटबल उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको भनाई छ ।