भैरहवा । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिना अतिरिक्त समय दिएको छ ।

गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएको आधारमा ठेकेदारले अतिरिक्त समय मागेको र यसको मूल्यांकनपछि नागरिक उड्डयन प्राधिकरणले यो समय दिएको हो । नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्नेछ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल  निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ठेकेदार कम्पनीको माग, परामर्शदाताको अनुगमन र सिफारिसपछि प्राधिकरण बोर्डले ६ महिनाको समय थपेको छ।

विमानस्थल निर्माण कार्यको सिलान्यास २०७१  माघ १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका हुन् ।  प्रारम्भिक तालिकाअनुसार २०१७ डिसेम्बर ३१ मा आयोजना निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।

अब भने डेढ वर्षभित्रै निर्माण सम्पन्न भइसक्नु पर्नेछ । उनका अनुसार अहिलेसम्म २६ प्रतिशत निर्माण सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणमा अधिकांश अप्ठेरो मानिएका काम भने सम्पन्न भइसकेको खबर आजको कारोबारमा छ  ।

थप ५ सय बिघा जग्गा अधिग्रहण 
निर्माणाधीन विमानस्थलको क्षेत्र बढाउन थप ५ सय बिघा जग्गा अधिग्रहण गर्ने प्रक्रिया कार्यालयले अघि बढाएको छ । थप जग्गा अधिग्रहणपछि विमानस्थलको कुल क्षेत्रफल ७ सय ८७ बिघा हुनेछ।

यो करिब ११ हजार रोपनीबराबर हो । क्षेत्रफलको आधारमा मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ । पूर्ण रूपमा विस्थापित हुनसक्ने ३ सय २० परिवार घरधुरीलाई अहिले अधिग्रहण भएकै क्षेत्रभित्र पुनःस्थापित गराउने योजना छ ।