काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ । 

एक कार्यक्रमबीच सो उपशाखा कार्यालयको बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक उद्घाटन गरे । 

सो समारोहलाई सम्बोधन गर्दै कार्कीले उपशाखा कार्यालयको स्थापनाबाट स्थानीय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने विश्वास व्यक्त गरे । उनले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामूूलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको उल्लेख गर्दै नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन स्थानीयलाई आग्रह गरे । 

सो समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उद्देश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको र चालु आ.व. भित्र मुलुकको ७५ वटै जिल्लाहरुमा आफ्नो सशक्त उपस्थितिका लागि प्रयत्नशील रहने बताए । उनले कम्पनीका आम अभिकर्ता एवं कमचारीहरुले बीमितको सर्वोपरि हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दीगो व्यवसाय हासिल गर्नेतर्फ कार्य गर्दै आएका कारण कम्पनीले यस क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । कम्पनीले दाबी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दाबी भक्तानी प्रदान गर्दै आइरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने उनको भनाई थियो । 

गौरादहका नगरपालिका प्रमुख रोहितकुमार साहले बीमाको महत्वका बारे चर्चा गर्दै नगरक्षेत्रभित्रै पनि बिमा जागरणमा कमी महशुस गरेकोले बीमा क्षेत्रको बिकासका लागि नगर प्रमुखको रुपमा आफूले हरसम्भव प्रयास गर्ने एवं कम्पनीले गर्ने बीमा जागरण गतिबिधिमा नगरपालिकाको तर्फबाट सहयोग रहने बचन दिए । 

नेपाल लाइफ इन्स्योरेन्सले आ.व.२०७३/०७४ मा कुल बिमाशुल्क आम्दानी करिब रु. १२ अर्ब, जीवन बीमा कोष करिब रु.४० अर्ब तथा कुल लगानी करिब रु. ४७ अर्ब भन्दा बढी गरी समग्र जीवन बीमा क्षेत्रमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनी सचिव ओमप्रकाश पूडासैनीले जनाएका छन् ।