काठमाण्डौ । बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडले आइपीओकै मूल्यमा खुलाएको एफपीओमा पहिलो दिन नै ३ गुणाको हाराहारीमा आवेदन परेको छ । 

भदौ २७ देखि खुलेको एकसय रुपैयाँ दरको कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा पहिलो दिन ३० करोड २५ लाख बढीको आवेदन परेको बिक्री प्रबन्धक प्रभूू क्यापिटल लिमीटेडले जनाएको छ । 

देशभरको आस्वा सेवा संचालनको अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट पहिलो दिन २५ हजार ७ सय ३७ आवेदन परेको छ । 

आगामी भदौ ३० गतेसम्म एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । यो अवधिसम्म माग अनुसारको आवेदन नपरे ढिलोमा असोज १० गतेभित्र आवेदन दिन सकिनेछ । 

नेपाल ग्रामीण विकास बैंकले कुनै प्रिमियम मूल्य नराखी अंकित दर(रु १००)मै ९ लाख ७५ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६ सय ९९ रुपैयाँ रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

हाल यो कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ६५ करोड ५० लाख र चुक्तापूँजी ५५ करोड ७५ लाख रहेको छ । 

विवरणपत्र तथा दरखास्त फारम प्रभूू क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय, नेपाल ग्रामीण विकास बैंकको बुटवलस्थित मुख्य कार्यालयमा समेत पाइनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट समेत एफपीओका लागि आवेदन दिन सकिनेछ । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १६ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । कर्मचारी व्यवस्थापन खर्च र अन्य केही अनपेक्षित खर्च बढ्दा यसको नाफा केही खुम्चिए पनि समग्रमा यो बैंकको अवस्था राम्रो छ । यहीकारण समेत एफपीओमा ढुक्कले लगानी गर्दा डूूब्ने अवस्था छैन ।