काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ पनि अब भाग्यमानीहरुलाई मात्र पर्ने भएको छ । यो कम्पनीले आइपीओकै मूल्यमा निश्कासन गरेको एफपीओमा अचाक्ली आवेदन परेको छ। 

यो कम्पनीले भदौ २७ देखि ३० गतेसम्म खुलाएको ९ लाख ७५ हजार कित्ता एफपीओमा थामिनसक्नु आवेदन परेको हो । एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभू क्यापिटलका अनुसार २ लाख ५४ हजार बढी आवेदन परेको प्रारम्भिक अनुमान गरिएको छ । आस्वा संचालनको स्वीकृतिप्राप्त सबै बैंक तथा बित्तीय संस्थाबाट यकिन तथ्यांक नआइसकेकाले बिक्री प्रबन्धकले अढाई लाख बढी आवेदन परेको अनुमान गरेको हो ।

एकसय रुपैयाँ मूल्यको ९ करोड ७५ लाख रुपैयाँको एफपीओमा २ अर्ब ७५ करोडको हाराहारीमा आवेदन परेको प्रारम्भिक आँकलन छ । यो हिसाबले माग गरेको तुलनामा २८ गुणा बढीको आवेदन परेको देखिएको छ । 

धितोपत्र बोर्डले चालुु आर्थिक वर्षको सुरुवात(साउन)देखि प्रत्येक सार्वजनिक निश्कासनहरुमा आवेदन गर्नेले न्यूनतम १० कित्ता अनिवार्य पाउने नियम लागू गरेको छ । यसको अर्थ मागभन्दा बढी आवेदन परेको खण्डमा गोलाप्रथा हुने र सो क्रममा भाग्यमानीहरुले १० कित्ताको दरले सेयर पाउनेछन् । 

नेपाल ग्रामीण विकास बैंकको एफपीओको संख्या अनुसार सबै आवेदकले १० कित्ता पाउनका लागि ९७ हजार ५ सय मात्र आवेदन पर्नु पर्ने थियो । तर, साढे २ लाख बढीको आवेदन परेपछि डेढ लाख भन्दा बढी आवेदकले हिस्स पर्नुपर्नेछ। 

बिक्री प्रबन्धक प्रभूू क्यापिटलका एक अधिकारीका अनुसार ९७ हजार ५ सयलाई चिठ्ठाको माध्यमबाट १० कित्ताको दरले सेयर वितरण गरिनेछ । 

यसरी नेपाल ग्रामीण विकास बैंकको एफपीओमा समेत भाग्य हुनेहरुले मात्र चिठ्ठामार्फत बाजी मार्ने देखिएको छ । आइपीओको भाउमै एफपीओ निश्कासन भएको ऐतिहासिक घटनामा मरिहत्ते गरेर आवेदन दिनेहरुका लागि समेत बोर्ड १० कित्ता अनिवार्य पाउने नियम ‘हात्ती आयो, हात्ती आयो फूूस्सा’ झै हुनेछ ।