काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको स्वामित्वमा रहेको नेपाल ग्रामीण विकास बैंक लिमीटेडको संस्थापक सेयर बिक्री नभएपछि मूल्य घटाएर पुनः लिलामीको प्रक्रिया खुलाइएको छ। 

यसअघि निर्धन उत्थानले कात्तिक २० देखि मंसिर ६ गतेसम्म ग्रामीण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९२ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ मूल्य तोकी लिलामीमा राखेको थियो । 

तर, यो अवधिमा बैंकको ४६ हजार ४ सय २० कित्ताका लागि मात्र बोलपत्र पर्यो । यसबाहेक १ लाख ४५ हजार ५ सय ७२ कित्ता बिक्री नभएकोले निर्धन उत्थान बैंकले न्यूनतम मूल्य घटाएर मंगलबार(मंसिर १२)देखि बिक्री नभएको संस्थापक सेयरको लिलामीमा पुनः खोलेको छ । 

मंगलबार नै प्रकाशित सूचना अनुसार यसअघि प्रतिकित्ताको न्यूनतम मूल्य ३०० रुपैयाँ राखिएको भए पनि त्यसलाई घटाएर रु. २०० बनाइएको छ । यसको अर्थ इच्छुक लगानीकर्ताले न्यूनतम २०० रुपैयाँ मूल्य राखी ग्रामीण विकास बैंकको संस्थापक सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यसअघि नेपाल ग्रामीण विकास बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी लिलामी खुलाइएको थियो । तर, धेरै कित्ता बिक्री नभएपछि अब भने सर्वसाधारणले समेत बोल लगाउन पाउने गरी बाँकी कित्ताको लिलामी खोलिएको छ । मूल्य घटाएर पुनः लिलामीको प्रक्रिया सुरु गरिएका कारण बुद्धि पुर्याएर लगानी गरे आफूले बोल लगाएकै मूल्यमा ग्रामीण विकास बैंकको सेयर पाउन सकिने संभावना बढेको छ । 

इच्छुकले मंसिर २६ गतेभित्रमा एनआइबिएल क्यापिटलको काठमाण्डौ(लाजिम्पाट)स्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

ग्रामीण विकास बैंकको साधारण सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७०६ रुपैयाँ रहेको छ।