काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको चौथो वार्षिकोत्सव समारोहसाउन ३० गते बुटवलमा सम्पन्न भएको छ । 

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सवको सभापतित्व सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले गरेका थिए ।

वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर डा. नेपालले सरकारले लिएको ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै विकास र समृद्धिको अभियानमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बिचार व्यक्त गरे । नेपालले अझै पनि ६० प्रतिशत जनता वित्तीय पहुँचबाहिर रहेकाले ती जनतामाझ बैंक तथा वित्तीय संस्था पुग्न सके अवसरै अवसर रहेको प्रष्ट  पारे ।

मर्जरपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले हासिल गरेको प्रगति सन्तोषजनक रहेकोमा खुसी लागेको, तर आगामी दिनमा यस संस्थाले आफ्नो क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगमा उच्च ध्यान पुर्याउनुपर्ने बिचार व्यक्त गर्दै गभर्नर नेपालले संस्थाले आफ्नो उद्देश्य अनुरुप दुर्गम ग्रामीण क्षेत्रमा समेत सेवा पुर्याउनुपर्ने बिचार व्यक्त गरे । अझै १ सय १६ वटा स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्था पुग्न नसकेको अवस्थामा लघुवित्त संस्थाहरूले ती क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्न एवं ग्रामीण भेगमा वित्तीय साक्षरता अभियान चलाएर वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा उनको जोड थियो ।

लघुवित्त वित्तीय संस्थालाई दुर्गम, विकट र गरिबी भएको स्थानमा जान प्रोत्साहनका लागि राष्ट्र बैंकले ती स्थानमा शाखा खोलेबापत केही समयका लागि रु.४० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने गरेको, लघुवित्त वित्तीय संस्थाहरूमा दोहोरो कर्जाको समस्या बढेकाले यसलाई रोक्न राष्ट्रबैंकले कर्जा सूचना केन्द्र सञ्चालन गरेको र अब कर्जा लिने व्यक्ति कर्जा सूचनाकेन्द्रमा दर्ता हुने बताउँदै यसले व्यक्तिको क्षमताको आधारमा कर्जा लिने र दोहोरोपना रोकिने विश्वास समेत उनले व्यक्त गरेका थिए । गभर्नर नेपालले संस्थाको दिगोपनका लागि मुनाफाको ३ प्रतिशत अनिवार्य खर्च गरी कर्मचारीको क्षमता अभिबृद्धि गर्न सुझाव दिएका थिए ।

समारोहमा प्रदेश नं. ५ को योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले संस्थाले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै नेपालमा रहेको गरिबीलाई न्यूनिकरण गर्न ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । उनले देशले परिलक्षित गरेको आर्थिक समृद्धि हासिल गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई कसरी क्षमतावान बनाउने भन्ने विषयमा गहन विश्लेषण गर्नुपर्ने र यसका लागि वित्तीय संस्थाहरू बढी भन्दा बढी उत्पादनशील क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल राष्ट्र बैंक सिद्धार्थ नगरका  निर्देशक अशोक पौडेलले मर्ज पश्चात ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गरेको प्रगति सन्तोष जनक देखिएता पनि लघुवित्तको क्षेत्र वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस संस्था पनि आगामी दिनमा प्रतिस्पर्धी ढंगले उत्रिनुपर्ने बताए ।

सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति माणिकरत्न शाक्यले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था नाफामुखी मात्र नभएर सेवामुखी भावनाले समेत विभिन्न कार्यहरू गरिरहेका चर्चा गर्दै संस्थाले आफ्नो क्षमता बृद्धि गर्न  चाँडै नै पुँजी वृद्धि गर्ने योजना राखेको बताए । अध्यक्ष शाक्यले संस्थाले आगामी दिनमा चाल्नु पर्ने विभिन्न कदमका बारेमा चर्चा गरेका थिए ।

वार्षिकोत्सव समारोहमा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले स्वागत मन्तव्य राख्दै मर्जर पूर्व २०७१ श्रावण २९ गते लगानीमा रहेको कर्जा रु. ३ अर्ब ९६ करोड रहेकोमा २०७५ आषाढ मसान्तमा सोमा वृद्धि भई लगानीमा रहेको कर्जा रु. ८ अर्ब ६६ करोड र निक्षेप रु. २ अर्ब ७४ करोड पुगेको, मर्जरको समयमा रहेको संस्थाको सञ्चित नोक्सानीमा उल्लेख्यनीय सुधार भई संस्थाले आ.व. २०७४/०७५ मा (२०७५आषाढ मसान्तमा) अपरिष्कृत नाफा रु.२६ करोड ४६ लाख गर्न सफल भएको र मर्जरको समयमा पुँजीकोष ऋणात्मक रहेकोमा सो समेतमा उल्लेख्य सुधार भई २०७५ आषाढ मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार पुँजीकोष ७.३७ प्रतिशत कायम भएको  जानकारी गराए ।

सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाका प्रवन्धक शंकरप्रसाद पहारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष रमेश जि.सी., ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. कर्मचारी संघका अध्यक्ष नवराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष दिपेन्द्र लुइटेलले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्यगर्ने संस्थाका ३० जना कर्मचारीहरू, आ.व. २०७४/०७५  को  लक्ष्य  प्राप्तिमा उत्कृष्ट योगदान गर्ने शाखा कार्यालय झुम्का, सुनसरी, इलाका कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय सर्दी, नवलपुर,  इलाका कार्यालय तुल्सीपुर दाङ्ग, शाखा कार्यालय वेलौरी, कन्चनपुर तथा  अनुशासित र लगनशील भई  कारोबार एवं  व्यवसाय  गर्ने २५ जना ऋणी सदस्यहरूलाई पुरष्कृत गरिएको थियो । 

सो अवसरमा संस्थालाई  सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंक लि., दोस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने नेपाल बैंक लि. र तेस्रो सर्वाधिक थोक कर्जा सापट उपलब्ध गराउने हिमालयन बैंक लि. लाई सम्मानपत्र प्रदान गरिएको थियो ।  

साथै निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण र रक्तदान कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवा, विराट मेडिकल कलेज एन्ड टिचिङ्ग हस्पिटल विराटनगर  र  कैलाली अस्पताल प्रा.लि. तथा नेशनल प्याथल्याव धनगढी,  शंकरनगर सामुदायिक वन उपभोक्ता समूह,  शंकरनगर इलाका  वन  कार्यालय,  तिलोत्तमा, रुपन्देही र  रक्तदान कार्यक्रम सफल बनाउन  सहयोग गर्ने रक्त संचार इकाई, भैरहवालाई सो अवरमा सम्मान पत्र र रक्तदान गर्ने  संस्थाका शेयर सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू लगायत ४१ जना संस्थाका कर्मचारी तथा विभिन्न व्यक्तिहरूलाई सो अवसरमा प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसअघि वार्षिकोत्सव मनाउने क्रममा संस्थाले साउन २६ गते रुपन्देही जिल्लाको रुद्रपुर गरगरे, सुनसरी जिल्लाको पकली र कञ्चनपुर जिल्लाको बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो भने साउन २६ क्षेत्रीय कार्यालय धनगढी,  साउन २९ गते प्रधान कार्यालय, बुटवलमा रक्तदान कार्यक्रम, सोही दिन नेपाल अपाङ्ग आश्रम बुटवल, देवीनगरमा अपाङ्गहरूलाई खाद्यान्न तथा सामाग्री वितरण र साउन ३० गते तिलोतमा नगर पालिका, शंकरनगर, वनवाटिका परिसर रुपन्देहीमा वृक्षारोपण कार्यक्रम गरिएको थियो ।

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्रप्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्ममा ५७ जिल्लामा १ सय ९४ वटा कार्यालयहरू स्थापना गरेको छ । संस्थाको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका वडा नं.–१०, रुपन्देहीमा रहेको छ  भने  विराटनगर, जनकपुर,  बुटवल, नेपालगंज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेको छ।