काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको विशेष साधारणसभाले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

असोज ५ गते कम्पनीको प्रधान कार्यालय रहेको स्थान बुटवलमा सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै एक कित्ता भन्दा कम फ्र्याक्सनमा रहेका संस्थापक÷सर्वसाधारण शेयरधनीहरुलाई कम्तीमा एक कित्ता हकप्रद शेयर प्रदान गर्ने निर्णय समेत गरेको छ । 

साथै विशेष साधारण सभाले संस्थाको  प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएको पूँजी संरचनामा संशोधन गर्ने र हकप्रद शेयर आवेदन गर्ने हक जुन समूहको शेयरधनी संस्थापक/सर्वसाधारणको हो सोही समूह अन्तर्गत भर्न हक हस्तान्तरण गर्न दिने समेत निर्णय गरेको छ । यसरी हकप्रद शेयर निश्कासन भए पश्चात संस्थाको चुक्त पुँजी रु. ९८ करोड २५ लाख पुग्ने भएको छ ।  

संस्थाका सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले स्वागत मन्तव्य राख्दै हकप्रद शेयर जारी गर्नुपर्ने आवश्यकता बारेमा विस्तृत रूपमा प्रकाश पार्दै हकप्रद शेयर जारी पश्चात पुँजीकोषमा सुधार एवं पुँजीको अवस्था सुदृढ भई संस्थाको व्यवसाय विस्तारमा ठूलो मद्धत मिल्ने बताए । 

सञ्चालक समितिको तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले सभामा विशेष प्रस्ताव र संस्थाको आ.व.२०७४/७५ को आषाढ मसान्तसम्मको संक्षिप्त प्रगति विवरण पेश गर्दै संस्थाले हकप्रद शेयर जारी गरे पश्चात नियमन व्यवस्था अनुसार न्यूनतम पूँजीकोष कायम भई शाखा सञ्जालको विस्तारबाट व्यवसाय विस्तार गर्न सघाउ पुग्ने धारणा राख्दै संस्थाले आगामी दिनमा अझ सुदृढ ढंगले व्यवसायीक रूपले प्रतिस्पर्धी भई कार्य गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाल सरकारको तर्फबाट सभामा प्रतिनिधित्व गरेका आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत  अर्जुन ढकालले नेपाल सरकारको गरिबी निवारण गर्ने अभियानमा  ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रूपमा इजाजतपत्र प्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आ.व. २०७४/७५ को आषाढ मसान्तसम्म देशका ५७ जिल्लामा रहेका १८८ वटा शाखा कार्यालयहरू मार्फत ३५८ विभिन्न स्थानीय तहमा सेवा प्रदान गर्दै आईरहेको छ ।