काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा रहेको आफ्नो संस्थापक समूहको सेयर मंगलबारदेखि लिलाममा राखेको छ ।

राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्तमा रहेको १०० रुपैयाँ अंकित २ लाख ९९ हजार ९८२ कित्ता सेयर लिलाममा राखेको हो । लिलाममा राखिएको राष्ट्र बैंकको सेयर सोही लघुवित्तमा रहेका संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने छन् ।

लिलाममा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको न्यूनतम मूल्यभन्दा बढीमा सेयर खरिदका लागि गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले अधिकतम सम्पूर्ण कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । एक लगानीकर्ताले एकभन्दा बढी बोलपत्र पेस गरेमा पहिलो बोलपत्रलाई मात्र मान्यता दिइनेछ ।

लगानीकर्ताले कात्तिक ४ गतेसम्म सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । प्राप्त आवेदन कात्तिक ७ गते दिउँसो ४ बजे नेपाल राष्ट्र बैंकको वित्त विस्थापन विभागमका खोलिनेछ । 

ग्रामीण विकासको सोमबार प्रतिकित्ता अन्तिम सेयरमूल्य ३१४ रुपैयाँ रहेको छ ।