काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सेमलार र बा“सगढीको कार्यक्षेत्रमा पर्ने रुपन्देहीको बुटवल उपमहानगरपालिकाको रानीवगियास्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको  पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई विद्यालयमा आयोजित हालै एक समारोहका बीच सो पानी प्रशोधन उपकरण हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री कार्कीले यस सामुदायिक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न संस्थाले पानी प्रशोधन उपकरण जडान गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुग्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालले विद्यालयलाई पानी प्रशोधन उपकरण उपलब्ध गराई सहयोग गरेकोमा धन्यवाद दिंदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरे । 

कार्यक्रममा संस्थाका विभागिय प्रमुख नारायण भट्टराई, किरण काफ्ले, क्षेत्रीय प्रवन्धक मोतिराम अधिकारी, इलाका कार्यालय शंकरनगरका प्रमुख संझना सिग्देल, शाखा कार्यालय सेमलारका नि. शाखा प्रवन्धक अर्जुन आचार्यलगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति थियो । 

कार्यक्रमको स्वागत मन्तब्य विद्यालयको तर्फबाट उप प्राचार्य यमानन्द चालिसेले गरेका थिए । हाल यस विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी १ हजार २ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 

राष्ट्रियस्तरमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण विकास लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रमहरू गर्दै आएको छ ।