काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६/७७ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ। 

गत फागुन ४ र ५ गते नेपालगञ्जमा सम्पन्न गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागिय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू, अन्य सम्बन्धित् कर्मचारीहरू तथा संस्थामा कृयाशील युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो।

गोष्ठी उद्घाटनका अवसरमा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले अर्धवार्षिक प्रगति विवरणको अवस्था र संस्थाले हाल भोगेका समस्या, चुनौती र अवसरहरूको विश्लेषण गरी वार्षिक लक्ष्य पूरा गर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा उच्चमनोवल, सहकार्य र पारदर्शीताका साथ वार्षिक लक्ष्य हासिल गर्ने गरी कार्यगर्न जोड दिए। 

सोही अवसरमा संस्थाका पाँचवटै क्षेत्रीय कार्यालय तथा विभागहरूबाट प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को प्रथम अर्धवार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रूपमा (शाखागत) छलफल गर्नुका साथै तोकिएको लक्ष्य पुरा नभएका शिर्षकमा आगामी २०७७ आषाढ मसान्तसम्म लक्ष्य पुरागर्ने प्रतिबद्धता समेत जाहेर गरिएकोे थियो। 

गोष्ठी समापनमा प्रमुख कार्यकारी अधिकृत कार्कीले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउँदै कर्जाको गुणस्तर उच्च राखी व्यावसायिक क्षमतालाई पूर्ण रूपमा सदुपयोग गरी वार्षिक कार्ययोजनामा तय भएका लक्ष्य हासिल हुनेगरी कार्य गर्न सबै दत्तचित्त भएर लाग्न निर्देशन दिए। उनले ग्राहक संरक्षण तथा हितका लागि संस्थाले विशेष रूपमा कार्य गर्न आवश्यक भएकोले ग्राहक उद्यमशीलता विकासका लागि उपयोगी तालिम, गोष्ठी र ग्राहकहरूको अवलोकन भ्रमणलाई थप प्रभावकारी रूपमा संचालन गर्न समेत सबै क्षेत्रीय कार्यालयलाई निर्देशन दिए। 

बुटवलमा प्रधान कार्यालय रहेको ग्रामीण विकास लघुवित्तले २०७६ पौष मसान्तसम्म सातवटै प्रदेशका ५७ जिल्लामा १ सय ८९ वटा इलाका/ शाखा कार्यालय र  पाँचवटा क्षेत्रीय कार्यालय विस्तार गरी करिब २ लाख २१ हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. १० अर्ब ३३ करोड, कुल बचत रु. ३ अर्ब ४९ करोड र सञ्चालन नाफा (अपरिष्कृत) रु. १७ करोड ५८ लाख रहेको छ।