काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ भन्दा बढीमा किनबेच भइरहेको नेपाल ग्रामीण विकास बैंकले साधारण सेयरको अतिरिक्त निश्कासनको स्वीकृति सोमबार धितोपत्र बोर्डबाट पाएलगत्तै यसको बिषयमा निकै ठूलो चर्चा सुरु भएको छ । चर्चाको एउटै कारण हो दोश्रो बजारमा ९ सय बढी मूल्यमा कारोबार भइरहेको सेयर एफपीओमार्फत प्रतिकित्ता १ सय रुपैयाँमै पाइने गज्जबको अफर । 

ग्रामीण विकास बैंकले अंकित मूल्यमा कुनै प्रिमियम मूल्य नथपी १ सय रुपैयाँको दरले एफपीओ जारी गर्ने भएपछि यसले लगानीकर्ताहरुलाई उत्साहित बनाएको पाइएको छ । तर, कतिपय लगानीकर्ताहरु ९ सय बढी मूल्यको सेयर १ सयमै एफपीओमार्फत बिक्री गरिने अफरले कतै डूबिने त होइन भन्ने संशय समेत देखिएको छ । आखिर नेपाल ग्रामीण विकासको एफपीओमा लगानी गर्नु उचित होला या नहोला ? हामीले सो बैंकका विविध पक्षहरुमा केन्द्रीत रहेर विश्लेषण गर्ने कोशिश गरेका छौ । 

सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण विकास बैंकको एफपीओमा पैसा हाल्नुु कति सुरक्षित या असुरक्षित होला ? 

नेपालको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले यो कम्पनीको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । तथापि, बजार मूल्य सन्तोषजनक, निकै भरपर्दा संस्थापकहरुको बलियो उपस्थिति तथा उच्च नाफा आर्जन गर्नसक्ने अथाहा संभावना रहेको यो कम्पनीको एफपीओमा लगानी गर्दा मालामाल भइने अवस्था देखिन्छ ।  इक्रा नेपालले यो बैंकलाई जुन रेटिङ दिएको छ, त्यो उपयुक्त देखिदैन । यसको अर्थ रेटिङ अझै राम्रो हुनुपर्दथ्यो । हुन त विगत लामो समयदेखि इक्रा नेपालले प्रभाव र दवाबको भरमा समेत काम गर्दै आइरहेको छ । ग्रामीण विकास बैंकको एफपीओमा समेत यस्तै केही कारणले हुनसक्छ उसले राम्रो रेटिङ नदिएको छ ।  

यो बैंकमा ३५ प्रतिशत सेयर स्वामित्व सरकारको छ । नेपाल राष्ट्रबैंकको ४ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंकहरुको १७ प्रतिशत लगानी छ । यसकारण समेत ग्रामीण विकास बैंकको संस्थागत सुुशासन राम्रो छ भने लगानी बिस्तारमा पनि यो बैंकलाई समस्या हुने देखिदैन । तर, इक्रा नेपालले नियामकहरुको समेत लगानी रहेको, सरकार परिवर्तन भइरहने तथा नियामक निकायको नेतृत्व समेत परिवर्तन भइरहने हुँदा त्यसको प्रभावले लगानी बिस्तारमा बाधा उत्पन्न हुनसक्ने तथा नाफामा समेत नकारात्मक प्रभाव पर्नसक्ने दाबी गर्दै ग्रेड फोर रेटिङ दिएको स्पष्टीकरण दिएको छ । इक्रा नेपालको यो प्रष्टीकरण सन्तोषजनक लाग्दैन । 

अर्कोतर्फ, नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले कुल कर्जाको ५ प्रतिशत विपन्नमा लगानी गर्नुपर्ने र त्यसमध्ये पनि २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाएपछि त्यसको फाइदा अन्य माइक्रो फाइनान्सलाई झै नेपाल ग्रामीण विकास बैंकलाई समेत हुने देखिन्छ । पाँचवटै विकास क्षेत्रमा बलियो उपस्थिति रहेको यो बैंकमार्फत वाणिज्य बैंकहरुले विपन्न कर्जा प्रवाह गर्नेछन्, यसले कारोबार तथा लगानी बिस्तार भई ग्रामीण विकास बैंक अझ फस्टाउन तथा नाफामा छलाङ मार्नसक्ने अथाहा संभावना छ । 

यो बैंकको अन्तिम कारोबार मूल्य प्रति कित्ता ९ सय ४३ रुपैयाँ रहेको छ । प्रतिकित्ता यति धेरै मूल्यमा कारोबार भइरहेको सेयरलाई १ सय रुपैयाँमा एफपीओमार्फत खरीद गर्न पाउनुु लगानीकर्ताका लागि सुनौलो अवसर बन्नेछ । यसकारण समेत ग्रामीण विकास बैंकको एफपीओमा लगानीकर्ताले ढुक्कले लगानी गर्दा घाटा लाग्ने अवस्था देखिन्न । 

नेपाल ग्रामीण विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १९ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । हाल यो बैंकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ८२.१३ : १७.८७ प्रतिशत छ । एफपीओपछि यसको चुक्तापुँजी ६५ करोड ५० लाखको उचाईमा पुुग्नेछ भने संस्थापक : सर्वसाधारणको सेयर स्वामित्व अनुपात ६९.९० : ३०.१० प्रतिशतमा रुपान्तरण हुुनेछ । 

यो बैंकको ५३ जिल्लामा १८६ वटा शाखा छन् । वाणिज्य बैंकहरुको भन्दा पनि शाखा सञ्जाल यो हिसाबले उत्कृष्ट रहेको देखिन्छ । 

ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको माइक्रो फाइनान्स कम्पनी हो । तत्कालीन पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक र सुुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकबीच २०१४ मा मर्जर भई ग्रामीण विकास बैंक बनेको हो ।