-भक्तराज रसाइली
काठमाण्डौ । उद्यमशीलता नवीनतम सोचको व्यवहारिक परिणति हो । संसारमा उद्यमीहरुले कम अध्ययन र बढी व्यवहारिक अनुसन्धानमा जोड दिंदै ज्ञानको क्षितिजलाई फराकिलो बनाउँदै आएका छन् । सोही ज्ञानको प्रयोगबाट नै व्यवसायिक जगतमा सफलता हासिल गरेका पनि प्रशस्त उदाहरण हामीसामु छन् । अक्सर व्यवसायीहरु कम्पनीका उत्पादनहरु ठूलो मात्रामा बिक्री बढाउन उद्दत रहन्छन् तर नेपालमा यस्ता एक पात्र(व्यवसायी) पनि छन् जो आफ्नो बिक्री र उत्पादन बढाउन चाहँदैनन् । नेपालको  पहिलो फूटवेयर टेक्नोलोजिष्ट हुन् अहमद दुल्लाहा । 

काठमाण्डौ ३० कमलपोखरीका बासिन्दा दुल्लाहको विद्यार्थी जीवनमा अध्ययन सहज भएन, कारण थियो उनमा अध्ययनप्रति लगाव र इच्छा नहुनु ।

झण्डै पढाइ नै छाड्न खोज्दा पारिवारिक दवाबकै कारणले १२ कक्षासम्म अध्ययन गरेका उनलाई व्यवहारिक कुरामा निकै चाख लाग्थ्यो र उनले सानैमा ट्याक्सी ड्राइभर बन्ने रहर पालेका थिए । ‘गाडी चलाउन पनि मज्जा आउने भएकाले मलाई ड्राइभर बन्न खुब मन लागेको थियो।’–दुल्लाहले हर्षित मुद्रामा भने ।

बाल्यकालमा बास्केटबल खेल्दाखेल्दै लगाउने जुत्तामा उनलाई तीव्र इच्छा भएछ । सोही जुत्ता नै उनको पछि अनुसन्धानको विषय बन्यो । १२ कक्षा सकेपछि उनले गुगलमा प्रोफेसन र करिअरबारे सर्च गरे । त्यसपछि फुटवेयर प्राविधिक बन्न भारतको दिल्लीतर्फ हानिए । 

दिल्लीमा फुटवेयर डिजाइन एण्ड डेभलपमेण्ट इन्स्टिच्युटमा ३ वर्ष अध्ययन गरे । अध्ययन गर्ने क्रममा आफूले पूर्ण ध्यान केन्द्रित गर्दै पढेको दुल्लाहको भनाइ छ । अध्ययनकै क्रममा सानो किचेनमा बस्नुपर्ने पीडा र पारिवारिक दूरीले गर्दा उनलाई आफ्नै देशमा केही गर्ने मन थियो । अध्ययन सकेपछि मुम्बईको एक कम्पनीमा ६ महिना काम गर्ने दौरान आफ्ना हाकिमको अधीन काम गर्ने इच्छा नभएपछि परिवारसँगै स्वदेशमै केही गर्ने सोंच लिएर दुल्लाह नेपाल फर्किए ।

नेपाल आएर दुल्लाहले सुरुमै आफ्नो व्यवसायिक दक्षता पोखेनन् । सुरुवातीताका नेपाली बजारमा जुत्ताकाबारे रिसर्च गरे । रिसर्चबाट ब्राण्डेड र प्रिमियम मूल्यका जुत्ताहरुको अभाव देखेर नै उनले पनि जुत्ताको उत्पादन गर्ने कम्पनीका रुपमा द फ्याक्ट्री टिम(टीएफटी) १० वर्षअघि स्थापना गरे । आफ्नै पिताबाट बीउ पूँजीका रुपमा अढाईलाख रुपैयाँ लिएर खोलेको कम्पनीबाट हाल वार्षिक रुपमा २÷३ करोडका जुत्ताहरु बिक्री गर्र्दै आएका छन् । अनलाइन प्रविधिबाटै प्रमोट गरिरहेका उनले कम्पनीमा ३० जनालाई रोजगारीसमेत दिइरहेका छन्।

भारत र इटलीबाट समेत कच्चापदार्थ ल्याई जेन्यून लेदरका हातबाटै जुत्ता, बेल्ट लगायत उत्पादन गरिरहेको दुल्लाहले दाबी गरे । बजारमा अधिक माग भएर आपूर्ति नै गर्न नसकेको उनको दाबी समेत छ । टीएफटी ब्राण्डका जुत्ताहरु ५ हजार मूल्यदेखि ९ हजार रुपैयाँसम्मका रेञ्जमा छन् । वालेटको मूल्य ३ हजार रुपैयाँ, बेल्टको ४ हजार ५ सय रुपैयाँसम्म छ । कम्पनीले हालसालै टिसर्ट ३ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । कम्पनीबाट बिक्री भएका उत्पादनहरुमा ग्राहकले मर्मतसम्भार निःशुल्क पाउने व्यवस्था समेत रहेको छ ।

टीएफटीबाट उत्पादित वस्तुहरुका मुख्य ग्राहक उच्च वर्गका रहेका दुल्लाहको भनाइ छ । बैंकर, डाक्टर, पाइलट, सेलेब्रेटी कलाकार लगायत ग्राहकहरु कम्पनीका उत्पादन उपभोग गरिरहेका दुल्लाहले सुनाए । ‘कम्पनीले वर्षमा २ वटा कलेक्सन निकाल्छ ।’दुल्लाहले बिजशालासँग भने–‘नेपाली बजारमा १०० प्रतिशत जेन्यून लेदरको प्रडक्ट अभाव भएकैले बजारमा माग अनुसार ठेल्न गाह्रो भइरहेको छ।’

दुल्लाहको टीएफटी ब्राण्ड आउटलेट काठमाण्डौभित्र ३ स्थान, पोखरा, चितवनमा पनि  शाखा छन् । निकट भविष्यमै भारतका २ स्थान र अष्ट्रेलिया, डेनमार्क र फिनल्याण्डमा समेत शाखा विस्तार गरिन लागेको दुल्लाहले सुनाए ।

प्रयास, इच्छा र लगावले नै सफल बनेका दुल्लाह काम गरेजस्तो नलागेको जिकिर गर्दै भन्छन्–‘मलाई काम गर्दा कहिल्यै अल्छी लाग्दैन । २४ घण्टा दिमागमा कम्पनीको विकास र प्रडक्ट डिजाइनमा ध्यान दिइरहेको हुन्छु।’

ग्राहकहरुको अत्यधिक माग बढेपछि उत्पादित वस्तुको मूल्य बढाएर ग्राहक रोक्न खोज्दा समेत धर नपाइरहेको उनको दाबीछ ।

लगाव, नेटवर्किङ र धैर्यता व्यवसायमा सफल बनाउने मन्त्रका रुपमा रहेका दुल्लाह बताउँछन् ।

कम्पनीको विकास र रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकता दिइरहेको उल्लेख गर्र्दैै दुल्लाहले बिजशालासँग भने–‘कम्पनीमा लगानी पार्टनरका रुपमा धेरैले इच्छा देखाउनु भएको छ, तर मलाई स्वतन्त्रता नहुने भएकाले नयाँ नयाँ आइडियाका साथ आफैं कम्पनीको अभिवृद्धिमा जोड दिन्छु ।’

दुल्लाहले आफ्नो कम्पनीमा नयाँ कर्मचारी भर्ना गर्दा शैक्षिक योग्यताभन्दा पनि स्मार्ट र सिक्ने रहर भएका कर्मचारीहरुलाई भर्ना गर्ने गरेको अनुभव समेत सुनाउन भ्याए ।

नेपाली समाजमा छोराछोरीलाई डाक्टर इञ्जिनियर बनाउने सपना यद्यपि अभिभावकहरुले पालिरहेकोमा जुत्तामा पनि करियर हुन्छ भन्ने धेरैलाई ज्ञात नै नभएको उनको बुझाइ छ । प्रत्येक व्यक्तिमा गतिशीलता शक्ति हुने तर्क अघि सार्दै दुल्लाहले बिजशालासँग भने–‘पढाइमा फेल हुनु पाप जस्तो भएको छ, फेल भएर त सिक्ने हो। हरेक व्यक्तिमा क्षमता हुन्छ, तर इच्छा अनुसारको प्रोफेसन भए सफलता तपाईँको हातमा छ ।’

भविष्यका बारेमा त्यत्ति धेरै चिन्तित नभएका दुल्लाह वर्तमानलाई नै दरिलो बनाउनुपर्नेमा जोड दिन्छन् ।