काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सो महासंघसँग आबद्ध नेपालभरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवम् सरलताका साथ बैंकिङ्ग कारोबारको पहुँच भित्र्याउने विषयमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका बैंकले जनाएको छ । 

होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको बताइएको छ । 

यसकासाथै महासंघसँग आबद्ध व्यवसायीहरुका लागि बैंकले आवश्यकताअनुसार बैंकिङ्ग एवम् वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनका लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।