काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुबीच आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा दिइने सेवा निःशुल्क बनाउने होडबाजी चलेको छ । 

यही क्रममा ग्लोबल आइएमई बैंकले पनि आस्वा सेवा निःशुल्क भएको घोषणा गरेको छ। जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । 

आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् । 

यस निःशुल्क सेवाबाट आस्वा प्रणालीमार्फत शेयरमा आवेदन गर्न ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैंकले लिएको छ । 

यो सेवा बैंकका सबै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन्  ।