काठमाण्डौ । ग्लोबल आइएमई बैंकले खूद नाफामा कमालको प्रगति हासिल गर्दै छलांग मारेको छ । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ३८ करोडमा सीमित थियो । 

व्यवसाय बिस्तारमा समेत राम्रो प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकले छलांग मारेको छ । यो बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८८ करोड मात्र थियो । 

बैंकले आब २०७३/७४ मा १ खर्ब १ अर्ब निक्षेप संकलन गरी ८० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७४ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले यो अवधिमा २ अर्ब ७१ करोड संचालन मुनाफा आर्जन गरेको छ, अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ८५ करोड मात्र थियो । 

अघिल्लो वर्ष १.८९ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर यो आब २०७३/७४ मा १.५७ प्रतिशतमा झार्न बैंक सफल भएको छ । 

बैंकको नाफामा बढोत्तरी भए पनि कस्ट अफ फण्ड भने बढेको छ । अघिल्लो वर्ष ३.१४ प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ७.०९ प्रतिशत पुुगेको हो । 

यो बैंकको प्रतिसेयर आम्दानी २५.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.३८ गुणा, प्रतिसेयर नेटवर्थ १६१.३१ रुपैयाँ, प्रति सेयर खूद सम्पत्ति मूल्य १४८१.२२ रुपैयाँ कायम भएको छ ।