काठमाण्डौ । दोश्रो त्रैमाससम्म आशालाग्दो गतिमा दौडिरहेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ । यो बैंकले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २.१२ प्रतिशतले नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको हो । 

सोमबार प्रकाशित बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड खूद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

बित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण सूचकमध्येको एक संचालन नाफा पनि घटेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ९६ करोड रहेको संचालन नाफा घटेर समीक्षा अवधिमा १ अर्ब ८१ करोडमा सीमित बन्न पुगेको छ । 

व्यवसाय बिस्तारको तीव्र गतिमा ब्रेक लाग्दा ग्लोबल आइएमई बैंकको खूद ब्याज आम्दानी समेत घटेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ६५ करोड रहेको खूद ब्याज आम्दानी घटेर २ अर्ब ६१ करोड भएको हो । 

बैंकले समीक्षा अवधिमा १ खर्ब २ अर्ब निक्षेप संकलन गरी ८९ अर्ब ६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८५ अर्ब ८१ करोड निक्षेप संकलन गरी ७३ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । तेश्रो त्रैमाससम्म बैंकको सीसीडी रेसियो ७५.२९ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा निस्क्रिय कर्जालाई १.५३  प्रतिशतबाट घटाएर १.२९ प्रतिशतमा झारेको छ । 

यस्तै, समीक्षा अवधिमा बैंकको रिजर्ब कोष अझ मजबुत भएको छ । अघिल्लो वर्षको यही अवधिमा कोषमा ३ अर्ब १२ करोड रहेकोमा यो वर्ष बढेर ३ अर्ब ८६ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ७ अर्ब २४ करोड चुक्तापूँजी रहेको बैंकको समीक्षा अवधिसम्म ८ अर्ब ८८ करोड रहेको छ । चुक्तापूँजीमा करिब २३ प्रतिशतको वृद्धि भए पनि नाफा घट्दा त्यसको असर प्रतिसेयर आम्दानीमा परेको देखिएको छ । यहीकारण बैंकको प्रतिसेयर आम्दानी २१.६७ रुपैयाँ कायम भएको छ । जबकि अघिल्लो आबको यही अवधिमा इपीएस २७.१६ रुपैयाँ थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३५ गुणा कायम भएको छ ।