काठमाण्डौ । ग्लोबल आइएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १००० प्रति कित्ताको दरले १५ लाख कित्ता ऋणपत्र निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

पाँच वर्षे अवधिको ऋणपत्रको नाम '१०.५% ग्लोबल आइएमई डिवेञ्चर-२०८०' हो।

कुल कित्तामध्ये २० प्रतिशतले हुन आउने ३ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ भने बाँकी १२ लाख कित्ता निजी संस्थाका लागि सुरक्षित गरिएको छ । 

ऋणपत्रको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

 

पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

बैंकहरुको  मुद्धती निक्षेपमा बढेको ब्याजदरका कारण सानिमा बैंकले निश्कासन गरेको ऋणपत्र  बिक्री हुन  हम्मे हम्मे परिरहेको बेला सिद्धार्थको पनि बजारमा निश्कासन भएको छ । त्यसो त सिटिजन्स बैंकले पनि ऋणपत्र निश्कासनको प्रक्रिया थालेको छ । एनआइसी एशिया बैंक पनि चौथो ऋणपत्र निश्कासनको तयारीमा छ । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्। तर, लगानीकर्ताले भने पछिल्लो समय यस्ता ऋणपत्रलाई नरुचाउन थालेका हुन् कि जस्तो देखिएको छ ।