काठमाण्डौ । संचालक समितिसँग कुरा नमिलेपछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका  छन् । 

राजीनामा आएको बिषयलाई बैंकका एक संचालकले बिजशालासँग पुष्टि गरे । 

विशेष गरी बैंकका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेका कारण उनले पदबाट राजीनामा गरेका बताइएको छ । 

पौड्यालले ग्लोबल आइएमई बैंकको नेतृत्व सम्हालेको १४ महिनामै राजीनामा गर्नुपरेको हो । 

बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय उनको नेतृत्वमा बैंकले गरेको सामान्य प्रगतिप्रति संचालकहरु सन्तुष्ट थिएनन् । टप वाणिज्य बैंकमा पर्ने यो बैंकको खस्कदो प्रगति र त्यसमा पौड्यालले राम्रो प्रदर्शन गर्न नसकेको बिषयलाई नै राजीनामाको कारण भनिएको छ । 

अध्यक्ष ढकाल र अन्य संचालकसँग टसल भएपछि नै राजीनामा गर्नुअघि समेत सीइओ पौड्याल लामो विदामा बसेका थिए । अघिल्लो साता बिजशालासँग एसएमएस वार्तामा उनले आफू लामो विदामा रहेको बताएका थिए । 

पछिल्लो समय डेपुटी सीइओको रुपमा अध्यक्ष ढकालका खास मान्छे महेश शर्मा ढकाललाई लगिएपछि सीइओ पौड्याल अझ बढी असन्तुष्ट रहेका थिए । ढकाललाई लगेपछि संचालक समितिले आफूलाई कतिपय विषयमा बाइपास गरेको उनको बुझाई थियो ।