काठमाण्डौ । ग्लोबल आइएमई बैंकले निश्कासन गरेको ऋणपत्रमा निकै न्यून आवेदन परेपछि दोश्रो चरणअन्तर्गत आवेदन लिने काम खुल्ला गरिएकोछ । 

यो बैंकको ऋणपत्रमा पहिलो चरणमा ६ प्रतिशत हाराहारी कित्ता खरीदका लागि मात्र आवेदन परेको हो । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार फागुन १९ गतेसम्म ऋणपत्रमा २९८ जनाले ३५ हजार ८६२ कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

न्यून आवेदन परेपछि बिक्री प्रबन्धकले ढिलोमा चैत १४ गतेसम्म ऋणपत्र खरीद गर्न सकिने गरी दोश्रो चरणको आवेदन खुल्ला गरेको हो । 

बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिवेञ्चर–२०८०र८१’ फागुन १५ देखि निश्कासन गरेको थियो ।

प्रतिकित्ता १००० दरले १५ लाख कित्ता ऋणपत्रमा छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिन सकिनेछ । कुल निश्कासित १५ लाख कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणका लागि, ३ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । 

ऋणपत्रमा लगानीकर्ताले १०.२५ प्रतिशत वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यो ब्याज बैंकको मुद्धती निक्षेप भन्दा राम्रो हो ।  

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंकमार्फत आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एलए माइनस’को रेटिङ प्रदान गरेको छ, जसको अर्थ यसमा लगानी गर्नु कम जोखिम रहेको भन्ने हो ।